अमेरिका र चीनबीच अमेरिकी कर वृद्धिबारे सम्झौताका लागि पुनः वार्ताको तयारी

-



     सफल आवाज    
     श्रावण १२ गते २०८२ मा प्रकाशित



स्टकहोम, १२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति एक महत्वपूर्ण हप्तामा प्रवेश गर्दै गर्दा संयुक्त राज्य अमेरिका र चीनका उच्च आर्थिक अधिकारीहरूबीच सोमबार वार्ता हुनेभएको छ । विश्वका शीर्ष दुई अर्थतन्त्रबीच स्वीडेनको राजधानी स्टकहोममा हुने वार्ता आगामी दुई दिनसम्म चल्नेछ । अन्य देशहरू पनि वासिङ्टनसँग सम्झौतालाई अन्तिम रूप दिन हतारिएका बेला यो वार्ता हुन लागेको हो ।

दर्जनौं व्यापारिक साझेदारहरूका लागि आगामी दिनहरूमा सम्झौता गर्न असफल हुनुको अर्थ उनीहरूले आगामी शुक्रबार (अगस्ट १) देखि संयुक्त राज्य अमेरिकामा निर्यातमा उल्लेखनीय कर वृद्धिको सामना गर्न सक्दछन् ।

ब्राजिल र भारतजस्ता साझेदारलाई समेत अमेरिकामा आयात हुने कर दरमा १० प्रतिशतको ‘आधारभूत’ दरबाट ५० प्रतिशतसम्म कर बढ्ने सम्भावना बढेको छ । येल विश्वविद्यालयको बजेट ल्याब रिसर्च सेन्टरको तथ्याङ्कअनुसार ट्रम्प प्रशासनले लगाएको करले अमेरिकी आयातमा सन् १९३० को दशकयता कहिल्यै नदेखिएको स्तरमा कर वृद्धि गरिसकेको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसहितको प्रतिनिधिमण्डलले स्वीडेनमा उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा रहेको चिनियाँ टोलीसँग भेट्दा सबैका आँखा वासिङ्टन र बेइजिङबीचको वार्तामा केन्द्रित हुनेछन् । अप्रिलमा दुवै देशले एकअर्काका उत्पादनमा तीन अङ्कको कर लगाए पनि यस वर्ष अमेरिकी कर अस्थायी रुपमा ३० प्रतिशतमा झारिएको छ भने चीनको प्रतिकारात्मक उपाय १० प्रतिशतमा झरेको छ ।

तर गत मे महिनामा जेनेभामा भएको वार्तापछि सुरु भएको ९० दिने युद्धविरामको समयावधि अगष्ट १२ मा सकिँदैछ । जेनेभा बैठकपछि दुवै पक्षले असहमति सुल्झाउन लण्डनमा बैठक गरेका थिए ।