अमेरिकाले भेनेजुएलाका मदुरोमाथिको इनाम पाँच करोड डलर पुर्‍यायो

-



     सफल आवाज    
     श्रावण २३ गते २०८२ मा प्रकाशित



वासिङ्टन, २३ साउन । संयुक्त राज्य अमेरिकाले सङ्घीय लागूऔषध तस्करीको आरोपमा फरारको सूचीमा रहनुभएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथिको इनाम बिहीबार दोब्बर गरेर पाँच करोड डलर पुर्‍याएको छ । यसलाई काराकासले ‘दयनीय’ र ‘हास्यास्पद’ भनेर वर्णन गरेको छ ।

मदुरोका विगतका दुई चुनावी विजयलाई मान्यता नदिने वासिङ्टनले दक्षिण अमेरिकी देशका नेतामाथि कोकेन तस्करी गिरोहको नेतृत्व गरेको आरोप लगाएको छ । “आज न्याय मन्त्रालय र विदेश मन्त्रालयले निकोलस मदुरोको गिरफ्तारीका लागि सूचना दिनेलाई ऐतिहासिक पाँच करोड डलर पुरस्कार दिने घोषणा गरेको छ”, महान्यायाधिवक्ता पाम बोन्डीले सामाजिक सञ्जालमा एक भिडियोमा भने, “उहाँ विश्वका सबैभन्दा ठूला लागूऔषध तस्करमध्ये एक हुनुहुन्छ र हाम्रो राष्ट्रिय सुरक्षाका लागि खतरा हुनुहुन्छ ।”

यसअघि जनवरीमा दुई करोड ५० लाख डलरको इनाम तय गरिएको थियो । भेनेजुएलाका विदेशमन्त्री इभान गिलले बोन्डीको ‘दयनीय’ इनामलाई ‘हामीले देखेको सबैभन्दा हास्यास्पद धुवाँको पर्दा’ भन्नुभएको छ । “हाम्रो मातृभूमिको गरिमा बिक्रीका लागि होइन । हामी यो कच्चा राजनीतिक प्रचार अभियानलाई अस्वीकार गर्छौं”, गिलले टेलिग्राममा भन्नुभयो ।

सन् २०२० मा राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा मदुरो र अन्य उच्च पदस्थ भेनेजुएलाका अधिकारीहरूलाई न्युयोर्कको सङ्घीय अदालतमा ‘नार्को–आतङ्कवाद’ षड्यन्त्रमा भाग लिएको लगायतका थुप्रै अभियोगमा दोषी ठहर गरिएको थियो ।