
ढोरपाटन (बागलुङ), १७ भदौ । एकदशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका थिए । कामविहीन भएपछि धेरैले घोडा खच्चड पाल्न छोडे भने पाल्दै आएका किसानलाई पनि बेच्न पाए हुन्थ्यो भन्ने लागेको बताउँछन् ।
बेकामे बनेका घोडा खच्चड बिक्री नहुँदा किसान चिन्तित भएका किसान पछिल्लो समय ढोरपाटनमा पर्यटक बढ्न थालेपछि घोडा व्यवसाय फस्टाउँदै छ । ढोरपाटनमा आउने पर्यटकले घोडामा सवार गर्न, तस्बिर तथा भिडियो खिच्नका लागि घोडा सवार गर्न थालेपछि पहिले बिक्री गरेका किसानले अहिले धमाधम किन्न थालेका छन् । पहिले बेकामे बनेका घोडा अहिले आम्दानीको स्रोत बन्न थालेका व्यवसायीको भनाइ छ ।
पर्यटकको चाप बढ्दै गएपछि अहिले घोडा व्यवसाय पनि फस्टाउन थालेको ढोरपाटन नगरपालिका-९ का खिमबहादुर विकले बताए। उपत्यकाबाट बुकीपाटनसम्म जानआउन रु चार हजारदेखि पाँच हजारसम्म लिने गरेको उनको भनाइ छ । घोडा चढेर चौरमा फोटो तथा भिडियो खिचेको रु ५० देखि रु १५० लिने जनाउँदै अहिले ढोरपाटनमा धेरैले घोडा किन्न थालेकाे बताए ।
“करिब १०-१५ वर्ष अगाडि ढोरपाटनमा घोडा खच्चड नहुने कोही थिएनन्, धेरैले सामान ढुवानी गरेर जीविकोपार्जन गर्थे, टाढाटाढाबाट अप्ठ्यारो बाटोमा घोडा खच्चडले भारी बोकेर ल्याउने/पुर्याउने गर्थे”, उनले भने, “केही वर्ष घोडा खच्चड पालेँ पनि आम्दानी नभएपछि पाद्यन छोडिएको थियो । अहिले दुई-चार जना पर्यटक बोके पनि कमाइ हुन्छ ।” ढोरपाटन पुग्ने पर्यटकले उपत्यकासहित बुकीपाटन, निसेलढोर र जलजलासम्म घोडामा जाने गर्छन् ।
पहिले ढोरपाटनमा उत्पादन भएको आलु, स्याउ, सिमीलगायत वस्तु बजार पुर्याउने र बजारबाट अन्य खाद्यान्न ल्याउने घोडा खच्चडले अहिले पर्यटक बोक्न थालेका घोडा व्यवसायी धनराम विकले बताए। अहिले गाडीमार्फत सामान ढुवानी गरे पनि गाडी नपुग्ने स्थानमा घोडाको प्रयोग हुने विकको भनाइ छ । उनका अनुसार पहिले एउटै किसानले दुई दर्जन बढीसम्म घोडा पाल्ने गरे पनि अहिले भने कम पाल्न थालेका छन् ।
व्यवसायीले घोडा चढाएबापत बढी शुल्क लिने गरेको गुनासो पनि आउने गरेको छ । घोडामा चढेर एकपटक फोटो खिच्दा रु ३०० तिर्नु परेको ढोरपाटन घुम्न आएका कुलदीप तामाङले बताए। सुरुमा रु १०० भने पनि व्यवसायीले अन्तिममा रु ३०० मागेका उहाँको गुनासो छ । पर्यटकबाट बढी शुल्क असुल्ने व्यवसायीलाई कारबाही गर्नुपर्नेमा तामाङले जोड दिए। ढोरपाटनमा पछिल्लो समय दैनिक २०० बढी पर्यटक पुग्ने गरेका छन् ।
बर्खामा वनफूलसँग रमाउने र हिउँमा हिउँ खेल्न ढोरपाटन आउने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेकामा आव २०८१/८२ मा पर्यटकको सङ्ख्या आठ हजारले बढेर २३ हजार ६९२ पुगेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




