कतारमा हमास नेतामाथि इजरायली आक्रमण, युद्धविराम वार्ता सङ्कटमा

-



     सफल आवाज    
     भाद्र २५ गते २०८२ मा प्रकाशित



दोहा, २५ भदौ । इजरायलले मङ्गलबार कतारमा हमासको राजनीतिक मुख्यालयमाथि हवाई आक्रमण गरेको छ । मुख्यालयमा शीर्ष नेताहरू गाजा युद्धविरामबारे अमेरिकी प्रस्ताव छलफल गर्न भेला भएका थिए । यो आक्रमणले कतारलाई आक्रोशित तुल्याएको छ र वार्तालाई लिकबाट हटाउने खतरा पैदा गरेको छ ।

कतारले यसलाई ‘अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन’ भन्दै विरोध गरेको छ । साउदी अरब र संयुक्त अरब इमिरेट्सले पनि कतारलाई समर्थन जनाएका छन् । आक्रमणमा हमासका केही सदस्य र गार्डहरू मारिएका छन् भने शीर्ष नेताहरू जीवित छन् भन्ने दाबी गरिएको छ । तर तत्काल प्रमाण प्रस्तुत गरिएको छैन ।

अमेरिकाले इजरायलले आक्रमण गर्नुअघि जानकारी गराएको भने पनि आफू टाढै रहेको बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘दुर्भाग्यपूर्ण घटना’ भने। तर कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले नेतान्याहूलाई ‘क्षेत्रलाई अपूरणीय सङ्कटतर्फ तानेको’ भन्दै आलोचना गरे।

कतारले मध्यस्थता जारी राख्ने सङ्केत दिएको छ तर हालको वार्ता ‘वैध छैन’ भनेको छ । आक्रमणमा कतारी आन्तरिक सुरक्षाकर्मीको समेत मृत्यु भएको छ ।