युरोपमा गर्मी-१६ हजार ५ सय मृत्यु जलवायु परिवर्तनसँग जोडिए

-



     सफल आवाज    
     असाेज १ गते २०८२ मा प्रकाशित



पेरिस, १ असोज । मानव–सिर्जित जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यो गर्मीमा युरोपेली सहरहरूमा करिब १६ हजार पाँच सय मानिसको मृत्यु भएको वैज्ञानिकहरूले बुधबार अनुमान गरेका छन् । यो निष्कर्ष आधिकारिक तथ्याङ्क आउनुअघि मोडलिङमार्फत निकालिएको हो ।

जलवायु र स्वास्थ्य अनुसन्धानकर्ताहरूले छिटो तयार पारेको अध्ययनले ग्लोबल वार्मिङसँग मृत्यु दर जोड्ने प्रयास गरेको हो । अनुमानित मृत्युहरू प्रत्यक्ष अस्पताल रेकर्डमा नभई विगतका सहकर्मी–समीक्षा अध्ययनमा प्रयोग गरिएका मोडलिङ विधिमा आधारित थिए । गर्मीको लहरका बेला मृत्यु प्रायः कम लेखिन्छ किनकि अस्पतालमा मुटु, सास फेर्न गाह्रो हुने वा अन्य रोगलाई नै कारण देखाइन्छ । यस्ता समस्या वृद्धमा झन् प्रबल हुन्छन् ।

यो गर्मीको स्थिति बुझ्न बेलायतका वैज्ञानिकहरूले जुनदेखि अगस्टसम्म आठ सय ५४ युरोपेली सहरमा तापक्रम औसत २.२ डिग्री सेल्सियस बढेको अनुमान गरे । ऐतिहासिक तथ्याङ्कसँग तुलना गर्दा सो अवधिमा करिब २४ हजार चार सय अतिरिक्त मृत्यु भएको प्रक्षेपण गरियो । त्यसमध्ये करिब ७० प्रतिशत अर्थात १६ हजार पाँच सय मृत्यु प्रत्यक्ष ग्लोबल वार्मिङकै कारण भएको द्रुत एट्रिब्युसन अध्ययनले देखायो ।

यसको अर्थ जलवायु परिवर्तनले गर्मीसम्बन्धी मृत्यु दर तीन गुणा बनाएको हुनसक्छ । यो अध्ययन इम्पेरियल कलेज लन्डन र लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका विज्ञहरूले संयुक्त रूपमा गरेका हुन् । यसअघि पनि एउटै गर्मीको लहरका लागि यस्तै नतिजा देखाइएको थियो ।

तर अधिकांश देशहरूले वास्तविक तथ्याङ्क ढिलो प्रकाशित गर्ने भएकाले अहिलेसम्म प्रत्यक्ष तुलना सम्भव छैन । अध्ययनका सह–लेखक फ्रेडेरिक ओटोले भन्नुभयो, “अहिले वास्तविक–समय तथ्याङ्क पाइँदैन, तर हाम्रो अनुमान यथार्थ नजिक छ ।”