कामना सेवा विकास बैंक र युनिभर्सल पावरको शेयरमूल्य समायोजन

-



     सफल आवाज    
     असाेज ८ गते २०८२ मा प्रकाशित



काठमाडौं, ८ असोज । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीहरुकाे शेयरमूल्य समायोजन गरिएकाे छ। नेप्सेले बुधबार कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य समायोजन गरेकाे जनाएकाे छ ।

दुबै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य निर्धारण गरेको हो। कामनाको शेयरमूल्य १० प्रतिशत तथा यूनिभर्सलको ९ प्रतिशत बोनस समायोजन गरिएकाे हाे ।

शेयरमूल्य समायाेजनपछि कायम सेवा विकास बैंकको शेयरमूल्य ४७७ रुपैयाँ ७३ पैसा भएको छ । यूनिभर्सल पावरको ३८० रुपैयाँ २८ पैसा कायम भएको छ। साे मूल्य नेप्सेले दिन भएकाे कारोबारकाे अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो।

मंगलबार कामनाको शेयर प्रतिकित्ता ५२५ रुपैयाँ ५० पैसामा काराेबार भएकाे थियाे भने यूनिभर्सलको ४१४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो। नेप्सेले समायोजन गरेकाे साेहि मूल्यकाे आधारमा बुधबार दोस्रो बजारमा काराेबार हुनेछ ।

कामना सेवा विकास बैंकले असोज २४ गते लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौँमा १९ औँ साधारण सभा डाकेकाे छ। सभा पूर्वान्ह ११ बजे डाकिएकाे छ। सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५.७८९५ प्रतिशत नगद लाभांश वितरणका प्रस्ताव अनुमाेदन गर्नेछ। प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, संस्थापक शेयरधनीहरुबाट ३ जना तथा सर्वसाधारणबाट ३ जनासहित ६ जना सञ्चालक चयन गरिनेछ ।

यूनिभर्सल पावर कम्पनीले असोज २३ गते, दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यू, तीखेदेवल, ललितपुरमा साधारण सभा डाकेकाे छ । सभा बिहान १० बजे बाेलाइएकाे छ। सभाले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमाेदन गर्नेछ।

यस्तै सभाले बोनस शेयर वितरणपछि शतप्रतिशत हकप्रद शेयर निष्काशनकाे प्रस्ताव पारित गर्नेछ । प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने, स्वतन्त्र सञ्चालकको नियुक्तिकाे प्रस्ताव पारित गर्ने, २ जना सञ्चालकको निर्वाचनकाे चयन लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ ।