
वासिङ्टन, १७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका हाल लागुऔषध कार्टेलहरूसँग ‘सशस्त्र द्वन्द्व’ मा संलग्न रहेको औपचारिक घोषणा गरेका छन् । उक्त जानकारी उहाँको प्रशासनले भेनेजुएलाबाट प्रस्थान गरेका डुङ्गाहरूमा हालै भएको घातक आक्रमणपछि कंग्रेसलाई पठाएको आधिकारिक सूचनामा उल्लेख गरिएको छ ।
एएफपीले बिहीबार प्राप्त गरेको सो पत्रमा अन्तर्राष्ट्रिय पानीमा भएका कम्तीमा तीन वटा आक्रमणलाई कानूनी औचित्य दिनका लागि यो कदम चालिएको बताइएको छ । ती आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । भेनेजुएलाका वामपन्थी राष्ट्रपति निकोलस मदुरोसँग बढ्दो तनावका बीच अमेरिकी प्रशासनले लागुऔषध तस्करीविरुद्ध कठोर कदम चाल्दै क्यारिबियन सागर क्षेत्रमा ठूलो सङ्ख्यामा सैन्य जहाजहरू तैनाथ गरेको छ ।
पेन्टागनले कंग्रेसलाई पठाएको सूचनामा भनिएको छ, “राष्ट्रपतिले यी कार्टेलहरूलाई गैर–राज्य सशस्त्र समूहका रूपमा परिभाषित गर्नुभएको छ, तिनीहरूलाई आतङ्कवादी सङ्गठनको दर्जामा राखिएको छ, र उनीहरूको गतिविधिहरू संयुक्त राज्य अमेरिकाविरुद्धको प्रत्यक्ष सशस्त्र आक्रमण भएको ठहर गरिएको छ ।” साथै, सो सूचनामा सन्दिग्ध तस्करहरूलाई ‘गैरकानूनी लडाकू’ का रूपमा वर्णन गरिएको छ ।
हालै अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकै लागुऔषधले भरिएका डुङ्गाहरूलाई लक्ष्य बनाएको आक्रमणबारे कानूनी विज्ञहरूले भने वासिङ्टनको कदम वैधानिकताको दृष्टिले विवादास्पद भएको टिप्पणी गरेका छन् ।








काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय… 




