फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, उद्धार र राहत कार्य तीव्र गतिमा

-



     सफल आवाज    
     असाेज २४ गते २०८२ मा प्रकाशित



मनिला, २४ असोज । दक्षिणी फिलिपिन्समा शुक्रबार बिहान आएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि उत्पन्न सुनामीको खतरा अब समाप्त भएको प्रशान्त सुनामी चेतावनी केन्द्रले जनाएको छ ।

प्रारम्भिक रूपमा इन्डोनेसिया र फिलिपिन्सका केही तटीय क्षेत्रमा साना छालहरू देखिएका थिए, जसमा इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वारको स्तर करिब १७ सेन्टिमिटर (६.७ इन्च) माथि पुगेको बताइएको छ । होनोलुलुस्थित केन्द्रका अनुसार भूकम्पपछिका करिब दुई घण्टासम्म समुद्रमा हल्का उतारचढाव भइरहने सम्भावना भने कायम छ ।

भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन जारी छ । राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले प्रभावित क्षेत्रमा उद्धार र राहत टोलीको तयारी भइरहेको र अवस्था सुरक्षित भएपछि ती टोलीहरू तैनाथ गरिने जानकारी दिए। फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार भूकम्प दाभाओ ओरिएन्टल प्रान्तको माने सहरबाट करिब ६२ किलोमिटर दक्षिणपूर्वमा समुद्रभित्र १० किलोमिटरको गहिराइमा आएको थियो ।

दाभाओ ओरिएन्टलका सरकारी विपद् न्यूनीकरण अधिकारी जुन सावेद्राले एसोसिएटेड प्रेससँग कुरा गर्दै भने, “म कार चलाउँदै थिएँ, अचानक जमिन हल्लियो र पावरलाइनहरू अनियन्त्रित रूपमा हल्लिँदै गरेको देखेँ । बिजुली बन्द भएपछि मानिसहरू घर र भवनबाट बाहिर भागे ।” उनका अनुसार यस पटकको भूकम्प विगतका भन्दा धेरै शक्तिशाली थियो, जसले विद्यालयसहित धेरै भवनमा चिरा पारेको छ ।

सावेद्राका अनुसार भूकम्पका कारण चक्कर र बेहोस भएका कम्तीमा ५० विद्यार्थीलाई एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ । मानेबाट करिब एक सय किलोमिटर दक्षिणमा रहेको जेनेरोसो सहरमा समेत सबै तहका कक्षा स्थगित गरिएका छन् ।