
बेइजिङ, २६ असोज । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएपछि चीनले आइतबार संयुक्त राज्य अमेरिकामाथि ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएको छ ।
ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्व (खनिज) सँग सम्बन्धित ‘असाधारण आक्रामक’ निर्यात प्रतिबन्धहरू लगाएको भन्दै शुक्रबार आफ्नो व्यापार युद्धलाई पुनः तीव्र बनाउने घोषणा गर्नुभएको थियो । उहाँले नोभेम्बर १ देखि लागू हुने गरी नयाँ करहरू थप्ने र ‘महत्त्वपूर्ण सफ्टवेयर’ निर्यातमा नियन्त्रण लगाउने निर्णयसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आगामी भेट रद्द गर्ने धम्की पनि दिनुभएको छ ।
आइतबार चीनको वाणिज्य मन्त्रालयले ट्रम्पको उक्त कर धमकीलाई ‘दोहोरो मापदण्डको स्पष्ट उदाहरण’ भन्दै कडा प्रतिक्रिया जनाएको छ । मन्त्रालयले वासिङ्टनले सेप्टेम्बरदेखि नै बेइजिङविरुद्ध आर्थिक दबाबका कदमहरू चालेको स्मरण गराउँदै भनेको छ, “हरेक पटक उच्च करको धम्की दिनु चीनसँग व्यवहार गर्ने सही उपाय होइन ।”
राष्ट्रपति ट्रम्पले चीनमाथि फेन्टानिल व्यापारमा संलग्नता र अनुचित व्यापार अभ्यास गरेको आरोप लगाउँदै अहिले चिनियाँ सामानहरूमा ३० प्रतिशत अमेरिकी कर लगाउनुभएको छ भने चीनले जवाफमा १० प्रतिशत कर लगाइरहेको छ ।
दुर्लभ पृथ्वी तत्वहरू दुई महाशक्तिबीचको हालैको व्यापार वार्ताको प्रमुख विवाद बनेका छन् । यी तत्वहरू स्मार्टफोन, विद्युतीय सवारी साधन, सैन्य उपकरणदेखि लिएर नवीकरणीय ऊर्जा प्रविधिसम्मका उत्पादनमा अत्यावश्यक छन् । चीनले यस्ता खनिजहरूको विश्वव्यापी उत्पादन र प्रशोधनमा प्रभुत्व जमाइरहेको छ ।








काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय… 




