सोलु हाइड्रोपावरकाे आईपीओ मंसिर ७ गतेदेखि आउदै

-



     सफल आवाज    
     कार्तिक २८ गते २०८२ मा प्रकाशित



काठमाडौं, २८ कात्तिक । सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि आईपीओ निष्काशन गर्ने जानकारी दिएकाे छ। कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरिने भएकाे हो।

कम्पनीले २ करोड कित्ता शेयर निष्काशनकाे अनुमति लिएकाे थियो। यसबाट १ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँकाे दरले १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिनेछ ।

आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिकाको वडा नं. ७, ११ र थुलुङ दूधकोशी गाउँपालिकाको वडा नं. १ को स्थानिय बासिन्दाहरुका लागि ४० लाख कित्ता र सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिकाको अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानियका लागि ६० लाख कित्ता रहेकाे छ । १० लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि रहेकाे छ ।

यसमा लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानियले मंसिर २१ गतेसम्म आवेदन दिन पाउनेछन्। ढिलोमा भने पुस ७ गतेसम्म आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मंसिर १० गतेसम्म आवेदन दिन पाउनेछन्। ढिलोमा मंसिर २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा रहेकाहरुले सेबाेनबाट स्वीकृति पाएका सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन पाउनेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।