गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

-



     सफल आवाज    
     मंसिर २१ गते २०८२ मा प्रकाशित



मुम्बई, २१ मङ्सिर । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा लागेको भीषण आगलागीमा २५ जनाको मृत्यु भएको राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले आइतबार पुष्टि गर्नुभएको छ ।

तटीय राज्यको उत्तरी क्षेत्र अर्पोरामा मध्यराततिर सुरु भएको आगलागीमा ज्यान गुमाउनेहरूमा केही पर्यटक पनि परेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञप्ति जारी गर्दै यस दुःखद घटनाप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ । अरब सागरको किनारमा रहेको पूर्व पोर्चुगाली उपनिवेश गोवा आफ्नो जीवन्त रात्रि जीवन, सुनौला बालुवामय समुद्र किनार तथा शान्त तटीय वातावरणका कारण वार्षिक रूपमा लाखौँ पर्यटकको आकर्षण केन्द्र बनेको छ ।

“आज हामी सबैका लागि अत्यन्त पीडादायी दिन हो”, मुख्यमन्त्री सावन्तले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ, “२५ जनाले ज्यान गुमाउनुभएको छ र छ जना घाइते हुनुभएको छ ।” उहाँले पत्रकारहरूसँग कुरा गर्दै मृतकमध्ये ‘तीनदेखि चार’ जना पर्यटक रहेको बताउनुभयो, यद्यपि राष्ट्रियता खुलाइएको छैन ।