
काराकास, २३ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई तीन करोडदेखि पाँच करोड ब्यारेल कच्चा तेल उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उहाँले उक्त तेल बिक्रीबाट प्राप्त हुने आम्दानी दुवै देशका ‘जनताको हितमा’ प्रयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यसै सन्दर्भमा ह्वाइट हाउसले शुक्रबार अमेरिकी तेल कम्पनीका उच्च अधिकारीहरूसँग भेनेजुएलाको विषयमा छलफल गर्न बैठक आयोजना गर्ने जनाएको छ । ट्रम्प प्रशासनले भेनेजुएलाको विशाल तर समस्याग्रस्त तेल उद्योगलाई अमेरिकी लगानी र प्रविधिका लागि अझ खुला बनाउन दबाब दिइरहेको बताइएको छ । यस बैठकमा एक्सन, सेभरन र कोनोकोफिलिप्सका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
यही दिन काराकासका अधिकारीहरूले कम्तीमा २४ जना भेनेजुएलाका सुरक्षा अधिकारीहरू रातारात मारिएको पुष्टि गरेका छन् । ती अधिकारीहरूलाई अमेरिकी पक्षले राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी संयुक्त राज्य अमेरिकामा लागुऔषधसम्बन्धी अभियोगको सामना गराउन सञ्चालन गरेको सैन्य अपरेसनका क्रममा मृत्यु भएको बताइएको छ । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेलसी रोड्रिगेजले ट्रम्पको चेतावनीप्रति कडा प्रतिक्रिया जनाउँदै आफूलाई धम्की दिनेहरूको भाग्य ‘भगवानद्वारा निर्धारित हुने’ बताउनुभयो ।
भेनेजुएलाका महान्यायाधिवक्ता तारिक विलियम साबले उक्त सैन्य कारबाहीमा दर्जनौँ सुरक्षा अधिकारी र सर्वसाधारणको ज्यान गएको र यसलाई अभियोजकहरूले ‘युद्ध अपराध’ का रूपमा अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । यसबीच क्युबाको सरकारले भेनेजुएलामा कार्यरत आफ्ना ३२ जना सेना र प्रहरी अधिकारीहरूको मृत्यु भएको पुष्टि गरेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




