दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

-



     सफल आवाज    
     माघ १४ गते २०८२ मा प्रकाशित



सियोल, १४ माघ । दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ । बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले उहाँलाई घुस लिएको अभियोगमा दोषी ठहर गरे पनि स्टक हेरफेर र चुनावी वित्तसम्बन्धी कानून उल्लङ्घनका आरोपबाट भने मुक्त गरेको छ ।

त्रिपन्न वर्षीया किम लामो समयदेखि विवादमा तानिँदै आउनुभएको थियो । भ्रष्टाचार, प्रभावको दुरुपयोग र शैक्षिक अभिलेखमा अनियमितताका आरोपले उहाँका पति पूर्वराष्ट्रपति युन सुक योलको कार्यकालभरि दक्षिण कोरियाको राजनीति प्रभावित भएको थियो । किम र युन दुवै डिसेम्बर २०२४ मा मार्सल ल घोषणा र त्यसपछि उत्पन्न राजनीतिक अराजकतासँग सम्बन्धित घटनाका कारण हिरासतमा हुनुहुन्छ ।

अदालतका अनुसार किमले व्यवसायी तथा राजनीतिज्ञहरूबाट दुई लाख अमेरिकी डलरभन्दा बढी मूल्यका उपहार र नगद लिनुभएको थियो । तीमध्ये एक धार्मिक समूहका नेताबाट प्राप्त दुईवटा ब्रान्डेड ह्यान्डब्याग र गहनासमेत रहेका थिए । यद्यपि अभियोजन पक्षले लगाएको स्टक हेरफेर र चुनावी कोष दुरुपयोगको आरोप प्रमाणित हुन सकेन । कालो पोशाक, मास्क र चश्मा लगाएर सजाय सुनुवाइका क्रममा किम अदालतमा उपस्थित हुनुभएको थियाे।

अभियोजकहरूले उहाँ आफूलाई कानूनभन्दा माथि ठान्ने र राज्य तथा धर्मबीचको संवैधानिक विभाजन कमजोर पार्ने कार्यमा संलग्न भएको दाबी गरेका थिए । उहाँका कार्यले देशका संस्थाहरूलाई गम्भीर रूपमा कमजोर पारेको अभियोजनको तर्क थियो ।