सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता

-



     सफल आवाज    
     फागुन १५ गते २०८२ मा प्रकाशित



जेनेभा, १५ फागुन । मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबीच तेहरानको आणविक कार्यक्रमबारे भएको पछिल्लो अप्रत्यक्ष वार्ता कुनै ठोस सम्झौताविना समाप्त भएको छ । जेनेभामा बिहीबार घण्टौँ चलेको संवादपछि दुवै पक्ष बाहिरिए पनि तनाव घट्ने सङ्केत स्पष्ट देखिएको छैन ।

वार्ताको मध्यस्थता गरिरहनुभएका ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले ‘उल्लेखनीय प्रगति’ भएको बताउनुभयो, तर कुनै ठोस सहमति सार्वजनिक भएन । वार्ता अन्त्य हुनुअघि इरानी राज्य टेलिभिजनले तेहरान युरेनियम संवर्धन जारी राख्न प्रतिबद्ध रहेको, संवर्धित सामग्री विदेश पठाउने प्रस्ताव अस्वीकार गरेको र अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाइनुपर्ने अडान दोहोर्‍याएको जनाएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्ने सहमति चाहनुहुन्छ । उहाँले इरान आन्तरिक असन्तोषले कमजोर बनेको बेला दबाब बढाउने अवसर देख्नुभएको छ । तर इरानले आफूलाई शान्तिपूर्ण उद्देश्यका लागि युरेनियम संवर्धन गर्ने अधिकार रहेको बताउँदै लामो दूरीको क्षेप्यास्त्र कार्यक्रम वा हमास र हिजबुल्लाहजस्ता समूहलाई समर्थनबारे छलफल गर्न अस्वीकार गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को मुख्यालय भियनामा प्राविधिक तहका वार्ता अर्को हप्ता जारी रहने अल–बुसाइदीले जानकारी दिनुभयो । सम्भावित कुनै पनि सहमतिमा आइएइएको भूमिका निर्णायक हुने अपेक्षा गरिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी पक्षसँगको संवादलाई ‘सबैभन्दा गहन र लामो चरणको वार्ता’ बताउनुभयो ।

उहाँले इन्डिया टुडेसँगको अन्तर्वार्तामा सम्भावित युद्ध ‘विनाशकारी’ हुने चेतावनी दिँदै अमेरिकाले आक्रमण गरे क्षेत्रभर फैलिने जोखिम औँल्याउनुभयो । इरानले अमेरिकी सैन्य अड्डा र इजरायललाई समेत सम्भावित लक्ष्य मान्ने चेतावनी दिँदै आएको छ ।