
तेहरान, २४ फागुन । मध्यपूर्वमा चर्किँदै गएको युद्धका बीच इरानले आफ्नो सेना अमेरिका र इजरायलविरुद्ध महिनौँसम्म तीव्र लडाइँ गर्न सक्षम रहेको दाबी गरेको छ । इरानको रिभोलुसनरी गार्ड्सले आइतबार वर्तमान गतिमा युद्ध जारी रहे पनि इस्लामिक गणतन्त्रको सैन्य क्षमता कम्तीमा छ महिनासम्म तीव्र सङ्घर्ष धान्न सक्ने बताएको हो ।
द्वन्द्व दोस्रो हप्तामा प्रवेश गरिसकेको अवस्थामा क्षेत्रभरि तनाव थप फैलिएको छ । इजरायलले लेबनानको राजधानी बेरुतको मध्यभागमा रहेको एक होटलमा लक्षित आक्रमण गरेपछि अवस्था झनै जटिल बनेको छ । उक्त होटलमा इरानको रिभोलुसनरी गार्डको विदेशी अपरेसन शाखा कुद्स फोर्ससँग सम्बन्धित कमान्डरहरू रहेको दाबी इजरायली सेनाले गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
घटनास्थलमा पुगेका एएफपीका फोटो पत्रकारहरूले भवनका झ्यालहरू फुटेको र पर्खालहरू जलेको अवस्था देखिएको बताएका छन् । यसैबीच इजरायली सेनाले आइतबार ‘तेहरानका विभिन्न स्थानमा’ नयाँ आक्रमणको लहर सुरु गरिएको जनाएको छ । इजरायलले ती आक्रमणहरू इन्धन भण्डारण केन्द्रसहित सैन्य पूर्वाधारसँग सम्बन्धित लक्ष्यहरूमा केन्द्रित रहेको बताएको छ ।
इरानले भने अमेरिका र इजरायलले शनिबार राजधानी तेहरानमा रहेको तेल भण्डारण केन्द्रमा आक्रमण गरेको आरोप लगाएको छ । इरानको ऊर्जा पूर्वाधारमाथि प्रत्यक्ष रूपमा भएको यो पहिलो आक्रमण भएको तेहरानको दाबी छ । यस घटनापछि शेयर बजारमा गिरावट आएको र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको उल्लेख गरिएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




