चीनको हतियार निर्यातमा पाकिस्तान प्रमुख

-



     सफल आवाज    
     फागुन २५ गते २०८२ मा प्रकाशित



नयाँदिल्ली, २५ फागुन । पछिल्ला वर्षहरूमा विश्वव्यापी हतियार कारोबारको ढाँचामा उल्लेखनीय परिवर्तन देखिँदै गएको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को नयाँ प्रतिवेदनअनुसार पाकिस्तान चीनबाट हतियार आयात गर्ने सबैभन्दा ठूलो देश बनेको छ ।

सन् २०२१–२५ को अवधिमा चीनले निर्यात गरेको प्रमुख हतियारको करिब ६१ प्रतिशत हिस्सा पाकिस्तानमै पुगेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार पाकिस्तानको कुल हतियार आयातमध्ये करिब ८० प्रतिशत चीनबाट आएको छ । सन् २०१६–२० को अवधिमा चीनबाट आउने हिस्सा ७३ प्रतिशत रहेको थियो ।

यो पछिल्लो अवधिमा अझ बढेको देखिन्छ । चीनले यस अवधिमा ४७ देशलाई प्रमुख हतियार आपूर्ति गरे पनि यसको सबैभन्दा ठूलो हिस्सा पाकिस्तानतर्फ गएको तथ्य प्रतिवेदनले औँल्याएको छ । सिप्रीका अनुसार सन् २०१६–२० मा विश्वका प्रमुख हतियार आयातकर्तामध्ये दशौँ स्थानमा रहेको पाकिस्तान सन् २०२१–२५ मा पाँचौँ स्थानमा उक्लिएको छ ।

यी दुई अवधिबीच पाकिस्तानको हतियार आयात ६६ प्रतिशतले बढेको छ । यो विश्वव्यापी कुल हतियार आयातको करिब ४.२ प्रतिशत हिस्सा हो ।