सियोल–वासिङ्टन सैन्य अभ्यासप्रति उत्तर कोरियाको कडा चेतावनी

-



     सफल आवाज    
     फागुन २६ गते २०८२ मा प्रकाशित



सियोल, २६ फागुन । उत्तर कोरियाका नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम यो जोङले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सुरु गरेको संयुक्त सैन्य अभ्यासले ‘अकल्पनीय रूपमा भयानक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ ।

मङ्गलबार सार्वजनिक गरिएको वक्तव्यमा उहाँले सियोल र वासिङ्टनले सञ्चालन गरिरहेको वार्षिक सैन्य अभ्यासलाई गम्भीर उक्साहटका रूपमा व्याख्या गर्दै यसले कोरियाली प्रायद्वीपमा थप तनाव निम्त्याउने बताउनुभयो । दक्षिण कोरिया र अमेरिकाले सोमबारदेखि आफ्नो वसन्तकालीन सैन्य अभ्यास ‘फ्रिडम सिल्ड’ सुरु गरेका छन् ।

यो अभ्यास मार्च १९ सम्म सञ्चालन हुने बताइएको छ । दक्षिण कोरियाका करिब १८ हजार सैनिक यसमा सहभागी हुने जानकारी दिइएको छ, तर कति अमेरिकी सैनिक सहभागी छन् भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।

सन् १९५० मा छिमेकी दक्षिण कोरियामाथि आक्रमण गरी कोरियाली युद्ध सुरु गरेको आणविक हतियार सम्पन्न उत्तर कोरियाले यस्ता संयुक्त सैन्य अभ्यासहरूलाई लामो समयदेखि आफ्नो देशमाथि आक्रमण गर्ने तयारीको अभ्यासका रूपमा आरोप लगाउँदै आएको छ ।