छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु

-



     सफल आवाज    
     फागुन २९ गते २०८२ मा प्रकाशित



बेइजिङ, २९ फागुन । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको छ । प्योङयाङबाट छुटेको रेल करिब २३ घण्टाको यात्रापछि शुक्रबार बिहान बेइजिङ आइपुगेको छ, जसले महामारीका कारण बन्द भएको दुई देशबीचको रेल आवागमन पुनः सुरु भएको सङ्केत दिएको छ ।

प्योङयाङबाट प्रस्थान गरेको के२८ नम्बरको रेल शुक्रबार बिहान ८ः३७ बजे (००३७ जिएमटी) बेइजिङ आइपुगेको बताइएको छ । कोरोना महामारीका बेला कडा सीमा बन्द गरिएपछि सन् २०२० देखि पूर्वी एसियाका यी दुई छिमेकीबीच रेल सेवा स्थगित भएको थियो । चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदारका रूपमा चिनिन्छ ।

त्यस्तै पृथक मानिने आणविक राष्ट्र उत्तर कोरियाका लागि चीन कूटनीतिक, आर्थिक तथा राजनीतिक समर्थनको महत्त्वपूर्ण स्रोतसमेत मानिन्छ । रेल सेवा पुनः सुरु हुनुलाई उत्तर कोरियामा विदेशीहरूको सीमित पहुँच पुनः खुल्न थालेको सङ्केतका रूपमा पनि हेरिएको छ ।

हालसम्म उत्तर कोरियाले सीमित व्यवस्थाअन्तर्गत केही रूसी नागरिकबाहेक अन्य विदेशी पर्यटकका लागि कडा प्रतिबन्ध लगाएको पर्यटन एजेन्सीहरूले बताएका छन् ।