इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

-



     सफल आवाज    
     चैत्र ५ गते २०८२ मा प्रकाशित



दोहा, ५ चैत। मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर असर पारिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लक्षित गर्दै कडा चेतावनी दिनुभएको छ । उहाँले यदि तेहरानले कतारका ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखेमा, संयुक्त राज्य अमेरिकाले इरानको विशाल दक्षिण पार्स ग्यास क्षेत्रलाई व्यापक रूपमा ध्वस्त पार्ने चेतावनी दिनुभयो ।

हालैका आक्रमणहरूपछि विश्व बजारमा कच्चा तेलको मूल्य झण्डै पाँच प्रतिशतले बढेको छ, जसले आपूर्ति शृङ्खला दीर्घकालीन रूपमा प्रभावित हुन सक्ने चिन्ता बढाएको छ । इरानले कतारको रास लाफान एलएनजी केन्द्रसहित खाडी क्षेत्रका ऊर्जा संरचनामा शृङ्खलाबद्ध आक्रमण गरेको बताइएको छ, जुन इजरायलले दक्षिण पार्स क्षेत्रमा गरेको आक्रमणको प्रतिकारका रूपमा भएको जनाइएको छ ।

सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानलाई आक्रमण रोक्न आग्रह गर्नुभएको छ । उहाँले इरानले कतारमाथि आक्रमण रोकेमा इजरायलबाट थप आक्रमण नहुने दाबी गर्नुभयो, साथै दक्षिण पार्समा इजरायलको अघिल्लो आक्रमणबारे अमेरिकालाई जानकारी नभएको उल्लेख गर्नुभयो ।

तर चेतावनी दिँदै उहाँले इरानले अटेर गरे संयुक्त राज्य अमेरिकाले प्रत्यक्ष हस्तक्षेप गर्ने बताउनुभयो । यसैबीच, होर्मुज जलडमरूमध्य हुँदै हुने तेल ढुवानीमा अवरोध उत्पन्न भएपछि ऊर्जा बजार थप अस्थिर बनेको छ । अमेरिकी–इजरायली आक्रमणपछि इरानमा हजारौँको ज्यान गएको अनुमान छ, तर तेहरानले अझै पनि मिसाइल र ड्रोन आक्रमण जारी राखेको छ ।