विश्व जल तथा मौसम दिवस : विपद्बाट बचाउन सहयोगी बन्दै पूर्वसूचना प्रणाली

-



     प्रगति ढकाल/रासस    
     चैत्र ९ गते २०८२ मा प्रकाशित



काठमाडौं, ९ चैत । गत शुक्रबार, आकाश अचानक बदली देखियो । घरका छाना नै उठाउने गरी हावा हुरी बेस्सरी चल्यो । चैत महिनाको मौसम पनि चिसो थियो । मुलुकको अधिकांश स्थानमा चट्याङसहितको असिना पानी पर्‍यो । त्यसको दुई दिनअघि मात्रै जल तथा मौसम विज्ञान विभागले ठूलो हावाहुरीसहित वर्षा हुने पूर्वानुमान सार्वजनिक गरिसकेको थियो ।

यो पूर्वसूचना औपचारिक जानकारी मात्र बनेन, व्यावहारिक रूपमा प्रभावकारी सावधानीको माध्यम बन्यो । विभागको सूचनापछि विद्यालयले तुरुन्तै चासो देखाए । कक्षाकोठामा रहेका बालबालिकाहरूलाई समय अगावै घर पठाइयो । अभिभावकहरू सजग बने । कसैले छाता बोके, कसैले आफ्ना छोराछोरी लिन आफैँ विद्यालय पुगे । कार्यालय हिँडेका मानिसहरू साथमा रेनकोट बोकेर निस्किए ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणले देखाएको तत्परताले ठूलो दुर्घटना टार्न मद्दत गर्‍यो । पूर्वसूचनाकै आधारमा अनावश्यक रूपमा बाहिर ननिस्किने, यात्रा स्थगित गर्ने र सुरक्षित स्थानमा बस्ने निर्णयहरू भए । यसले ठूलो जोखिम न्यूनीकरण गर्‍यो । हावाहुरी सुरु भएसँगै विभिन्न स्थानमा बिजुलीका पोल ढल्ने, रुखहरू भाँचिनेजस्ता घटनाहरू भने भए । कतिपय ठाउँमा विद्युत् सेवा अवरुद्ध पनि भयो । तर, यस्ता घटनाका बाबजुद मानवीय तथा ठूलो भौतिक क्षति हुन पाएन ।

यस घटनाले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ । समयमै प्राप्त हुने विश्वसनीय पूर्वसूचना र त्यसप्रति नागरिक तथा संस्थागत तहको जिम्मेवार प्रतिक्रिया भएमा ठूलो विपद्को असरलाई उल्लेखनीय रूपमा कम गर्न सकिन्छ । जल तथा मौसम विज्ञान विभागले गत असोज १७ देखि २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने, बाढी–पहिरोको जोखिम रहेको भन्दै जो जहाँ छ, उही सुरक्षित रहन सन्देश जारी गर्‍यो । त्यसपछि अन्य अन्तरसरकारी निकायहरूले विभागको सूचनालाई अनुसरण गर्दै विपद् व्यवस्थापनको पूर्वतयारीका लागि जुट्न थाले ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त अवधिमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले लामो दूरीका तथा काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधन आवागमन केही दिनसम्म रोक्ने निर्णय गर्‍यो । उक्त निर्णयले यसपटक बाढीपहिरोका कारण सडक यात्रीहरूको ज्यान जान पाएन । विसं २०८१ असोजमा झ्याप्ले खोलामा आएको पहिरोका कारण यात्रुबाहक बस नै पुरिँदा ३५ भन्दा बढीको ज्यान गएको थियो ।

रातिको समयमा पहिरो खस्दा बुटवलबाट काठमाडौँका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस, गोरखाबाट काठमाडौँका लागि हिँडेको ना ४ ख २२७० नम्बरको बस, चितवनबाट काठमाडौँका लागि हिँडेको बा ३ ज १३४५ नम्बरको माइक्रोबस पहिरोले पुरिएको अवस्थामा भेटिएको थियो । त्यस वर्ष मौसम विभागले अति भारी वर्षा हुने र सकेसम्म यात्रा नगर्न आग्रह गर्दै पूर्वसूचना जारी गरेर सचेत गराएको थियो । तर विभागको सूचनालाई अन्य सरकारी संयन्त्रले नै विश्वास गरेन । सूचनाको बेवास्ता गर्‍यो ।

न यात्रुहरूले पत्याए, न सवारीधनीहरूले सूचनाको विश्वास गरेर केही दिन सवारी साधन बन्द गर्न सके । गत असार २४ गते रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आयो । बाढीका कारण चीन–नेपालका गरी अहिलेसम्म १९ जना बेपत्ता र सात जनाको मृत्यु भयो । विभागका बाढीविद् विनोद पराजुलीका अनुसार सुप्राग्लेशियर ताल फुट्दा आएको उक्त बाढीको पूर्वसूचना प्रणाली भएको भए अकालमै सर्वसाधारणको ज्यान जाने थिएन । “रसुवा भोटेकोशी नदीमा आएको बाढीसम्बन्धी पूर्वसूचना पाएको भए अकालमै कसैले मृत्यु व्यहोर्नुपर्ने थिएन”, उहाँ भन्नुहुन्छ ।

“राडार र बब्लर सेन्सर नदीको आसपासमा जडान गरिएको हुन्छ, पानीको सतह घटबढ भएको सूचना हाम्रो डाटा लगरमा सङ्कलित हुन्छ र कम्युनिकेशन मोडेलबाट हाम्रो वेबसाइटमा सूचना आउँछ”, बाढीविद् पराजुली भन्नुहुन्छ, “बाढी आउने सम्भावनालाई विश्लेषण गरेर जिल्ला प्रशासन कार्यालय, प्रहरी, सेना, रेडक्रस, प्रभावित हुन सक्ने समुदायका स्थानीय विपद् व्यवस्थापन समिति तथा प्रतिनिधिहरूलाई सूचना सम्प्रेषण गर्छौँ ।” कहिलेकसो स्थानीय बासिन्दाले बाढीको पूर्वसूचना पाएर बाढी आउने भू–भागतिर नै भाग्ने गरेको बताउनुहुन्छ पराजुली ।

“जता–जता बाढी आउँछ, उतै–उतै स्थानीय नजाउन् भन्नका लागि हामी पहिल्यै नै तालिम, गोष्ठी तथा समुदाय तहमा गएर जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “विगतलाई फर्केर हेर्दा नेपालमा बाढी नआएको कुनै वर्ष नै छैन । गत वर्ष पनि तराईका केही भूभागहरू बाढीको चपेटामा परे, तर राडार र बब्लर सेन्सर जडान भएको ठाउँमा कुनै मानवीय क्षति हुन सकेन ।” आजभन्दा १० वर्षअघि वर्षात्को समयमा आकाशबाट परेको अविरल वर्षासँगै कर्णाली नदीमा ठूलो बाढी आयो ।

बाढीसँगै बर्दियाको राजापुरको अस्तित्व नै बगाइदियो । ६० घर बाढीसँगै बगेर गए । तर ठूलो बाढी आएर पनि त्यहाँका मानिसलाई बगाउन पाएन । धनको क्षति भयो, तर मानवीय क्षति हुन सकेन । सरकारी तबरबाट स्थापना भएका बाढी पूर्वसूचना केन्द्र र प्रणालीले नै त्यहाँका मानिसलाई जोगाएको बताउनुहुन्छ बाढीविद् पराजुली । ती पूर्वसूचना केन्द्र र प्रणाली स्थापना नभएको भए बाढीको चपेटामा परेर अकालमै ज्यान गुमाउनेको सङ्ख्या सयौं नाघ्न सक्थ्यो ।