
तेहरान, १० चैत । मध्यपूर्वमा युद्धविरामको सम्भावना झल्किएको केही घण्टामै इरानले इजरायलमाथि नयाँ क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय तनाव फेरि तीव्र बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘धेरै राम्रो’ वार्ता भइरहेको दाबी गर्नुभएको भए पनि तेहरानले औपचारिक रूपमा कुनै संवाद नरहेको स्पष्ट पारेको छ ।
ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि गोप्य वार्ता भइरहेको उल्लेख गर्दै पाँच दिनभित्र सहमति नभए कडा सैन्य कदम चालिने चेतावनी दिनुभएको थियो । उहाँको उक्त अभिव्यक्तिले विश्व बजारमा सकारात्मक सङ्केत देखिएको थियो भने तेलको मूल्यमा पनि गिरावट आएको थियो । तर इरानले भने यस्तो दाबी अस्वीकार गर्दै यसलाई बजारमा प्रभाव पार्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।
अमेरिकी पक्षले इरानका उच्च तहका नेतासँग संवाद भइरहेको जनाएको थियो । केही सञ्चारमाध्यमले इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफलाई वार्ताको प्रमुख पात्रका रूपमा उल्लेख गरेका छन् । साथै अमेरिकी प्रतिनिधिहरू स्टिभ विटकफ र जारेड कुशनरले पाकिस्तानमा सम्भावित भेटवार्ता गर्न सक्ने चर्चा पनि गरिएको छ । यद्यपि ह्वाइट हाउसले औपचारिक पुष्टि नगरेसम्म यस्ता विवरणलाई अन्तिम मान्न नहुने बताएको छ ।
यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग संवाद गर्दै क्षेत्रीय शान्तिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । तर इरानका अधिकारीहरूले प्रत्यक्ष वार्ता नभएको दोहोर्याइरहेका छन् ।
इजरायलतर्फ भने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकासँग सहमति सम्भव भएको सङ्केत पाए पनि आफ्नो देशको सुरक्षाका लागि इरान र लेबनानमा सैन्य कारबाही जारी रहने बताउनुभएको छ । उहाँका अनुसार हालको सैन्य उपलब्धिलाई कूटनीतिक अवसरमा रूपान्तरण गर्न सकिने अवस्था देखिएको छ ।








काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय… 




