एशियाली अर्थतन्त्रको तीव्र विस्तार, विश्वमा प्रभाव बढ्दो : प्रतिवेदन

-



     सफल आवाज    
     चैत्र ११ गते २०८२ मा प्रकाशित



बोआओ, हैनान (चीन), ११ चैत । एशिया अझै पनि विश्व आर्थिक वृद्धिको प्रमुख चालकका रूपमा कायम रहेको एक नयाँ प्रतिवेदनले देखाएको छ । मङ्गलबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार विश्व कुल गार्हस्थ उत्पादनमा एशियाको हिस्सा निरन्तर बढिरहेको छ ।

‘एशियाली आर्थिक दृष्टिकोण तथा एकीकरण प्रगति वार्षिक प्रतिवेदन २०२६’ अनुसार सन् २०२६ मा एशियाली अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । विश्व अर्थतन्त्रमा एशियाको हिस्सा २०२५ को ४९.२ प्रतिशतबाट बढेर ४९.७ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।

संस्थाका महासचिव झाङ जुनले ‘एशियाली शताब्दी’ सुरु भइसकेको धारणा बलियो बन्दै गएको बताएका छन् । उहाँले चुनौतीहरू भए पनि एशियाली अर्थतन्त्र लचिलो र सकारात्मक दिशामा रहेको उल्लेख गर्नुभयो । सन् २००१ मा स्थापना भएको उक्त संस्था एक गैर–सरकारी, गैर–नाफामुखी अन्तर्राष्ट्रिय संस्था हो, जसले क्षेत्रीय आर्थिक एकीकरणलाई प्रोत्साहन गर्छ ।

यस वर्षको सम्मेलन मार्च २४ देखि २७ सम्म हैनानमा ‘साझा भविष्य निर्माणः नयाँ गतिशीलता, नयाँ अवसर, नयाँ सहकार्य’ नारासहित आयोजना भइरहेको छ । प्रतिवेदन अनुसार एशिया विदेशी लगानीका लागि अझै पनि प्रमुख गन्तव्य बनेको छ, जहाँ चीन र दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको समूह सबैभन्दा आकर्षक केन्द्रका रूपमा देखिएका छन् ।