मध्यपूर्वमा युद्धको दायरा विस्तार

-



     सफल आवाज    
     चैत्र २२ गते २०८२ मा प्रकाशित


Lebanon Israel Iran


पेरिस, २२ चैत । मध्यपूर्वमा युद्धको तीव्रता थप बढ्दै जाँदा विभिन्न देशमा आक्रमण, प्रतिआक्रमण र कूटनीतिक टकराव एकैसाथ चर्किएका छन् । पछिल्ला घटनाक्रमहरूले क्षेत्रीय स्थिरता थप जटिल बन्दै गएको सङ्केत गरेका छन्, जहाँ सैन्य कारबाहीसँगै राजनीतिक चेतावनी र आरोप–प्रत्यारोप पनि तीव्र बनेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानभित्र खसालिएको दोस्रो अमेरिकी एयरम्यानलाई सफलतापूर्वक उद्धार गरिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार उक्त एयरम्यान अहिले सुरक्षित अवस्थामा छन्, यद्यपि उनीँ घाइते भएको बताइएको छ । उद्धारका लागि अमेरिकी सेनाले उच्च क्षमताका दर्जनौँ विमान परिचालन गरेको उल्लेख गरिएको छ ।

यसैबीच, इरानी सञ्चारमाध्यमहरूले अमेरिकी खोजी अभियानमा संलग्न एक विमान इरानले नष्ट गरेको दाबी गरेका छन् । क्षेत्रीय प्रभाव विस्तार हुँदै जाँदा बहराइनमा इरानी आक्रमणपछि एक संरचनामा आगलागी भएको र नागरिक सुरक्षा टोलीले त्यसलाई नियन्त्रणमा लिएको जानकारी दिइएको छ ।

उक्त घटनामा मानवीय क्षतिको विवरण भने सार्वजनिक गरिएको छैन । त्यस्तै, संयुक्त अरब इमिरेट्सले आफ्नो एल्युमिनियम उद्योगलाई लक्षित गर्दै इरानले मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ, जसको प्रतिकारस्वरूप हवाई सुरक्षा प्रणाली सक्रिय पारिएको छ । कुवेतमा पनि इरानी ड्रोन आक्रमणले ऊर्जा पूर्वाधारमा असर पारेको छ ।

दुई पावर र पानी प्रशोधन केन्द्रमा क्षति पुगेको र दुई विद्युत् उत्पादन एकाइ बन्द गर्नुपरेको अधिकारीहरूले जानकारी दिए । कुवेत सहरको सरकारी भवनमा पनि आक्रमण हुँदा ‘महत्त्वपूर्ण’ क्षति पुगेको जनाइएको छ, तर कुनै मानवीय क्षति भने रिपोर्ट भएको छैन । कुवेती सेनाले मिसाइल र ड्रोन अवरोध गर्न निरन्तर प्रयास भइरहेको जनाएको छ ।