एनटीएचएमसीमा २ हप्ते ‘ताेफु तथा सोया परिकार’ तालिम सम्पन्न; ‘भेगन फेयर’ मार्फत प्रदर्शनी

-



     सफल आवाज    
     चैत्र २६ गते २०८२ मा प्रकाशित



पोखरा, २६ चैत । पोखराको छिनेडाँडास्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (NTHMC) मा विगत १४ दिनदेखि सञ्चालन गरिएकाे ‘ताेफु तथा सोया उत्पादन निर्माण तालिम’ एक विशेष प्रदर्शनीका साथ सम्पन्न भएको छ। तालिमको अन्तिम दिन कलेज परिसरमा ‘भेगन फेयर’ को आयोजना गरियो।

तालिममा होटल तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरु, टोल विकास संस्था, सामाजिक संस्थाका प्रतिनिधि, मनाङ लगायतका जिल्लाबाट सहभागिता थियाे । साथै गुम्बाका वाैद्ध उपासक सहित ३६ जनाको सहभागिता रहेको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिनुभयो ।

विविध शाकाहारी परिकारको प्रदर्शनी

ताेफु (भटमासको पनिर) र सोयाबाट बनेका विभिन्न स्वादिला र स्वास्थ्यवर्धक परिकारहरू प्रदर्शनीमा राखिएकाे थियाे । मेलामा ४ वटा मुख्य स्टलहरू रहेका थिए:

  • स्टल नं. १: ओरिएन्टल खानाहरू जस्तै मंगोलियन ताेफु, ब्ल्याक बिन्स टोफु, लावास, स्मोक्ड टोफु सलाद र साल्सा सस।
  • स्टल नं. २: नेपाली र स्थानीय स्वादका परिकारहरू जस्तै टोफु चिल्ली, आमाको माया रेसिपी (ताेफुको विशेष परिकार), टेरियाकी ताेफु क्युब र टोफु साल्ट एण्ड पेपर।
  • स्टल नं. ३: ताेफु म:म:, टोफु योमरी, स्प्रिङ रोल र खरबुजाको क्यानोपी (Watermelon Canopy)।
  • स्टल नं. ४ (बेभरेज): विभिन्न सोया ड्रिङ्क्सहरू जस्तै सोया मसला चिया, ग्रिन टी, लालीगुराँस चिया, सोया दलाई लामा कफी, सोया मोका विथ हट चकलेट, र गुलियो परिकारमा गाजरको हलुवा (सोया मिल्क सहित) र स्वीट ताेफु।

विज्ञहरूको सहभागिता र तालिमको उद्देश्य

यस कार्यक्रममा विभिन्न होटलका सेफहरू, व्यवस्थापकहरू तथा अस्पतालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै कलेजका प्राचार्य प्रकाश रेग्मीले जनावर रहित (वनस्पतिजन्य) स्वास्थ्यवर्धक खाना प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यो कार्यक्रम अत्यन्तै सफल भएको बताउनुभयो।

दुई हप्तासम्म चलेको यस तालिममा प्रशिक्षकहरू नरहरि गुप्ता, भरत विश्वनाथ र धवलले प्रशिक्षण दिनुभएको थियो। सहभागीहरूले दैनिक ३ देखि ४ वटा नयाँ सोया परिकारहरू बनाउन सिकेका थिए।