नेप्सेमा सुधार: अन्तिम समयमा फर्कियो चमक, ५ अर्ब २७ करोडको कारोबार

-



     सफल आवाज    
     वैशाख ११ गते २०८३ मा प्रकाशित



काठमाडौं, ११ वैशाख । साताको पहिलो कारोबार दिनदेखि नै लगातार ओरालो लागिरहेको धितोपत्र बजारमा साताको अन्तिम दिन शुक्रबार भने केही सुधार देखिएको छ। कारोबार अवधिभर उतारचढावका बीच नकारात्मक रहेको नेप्से परिसूचक अन्तिम समयमा सम्हालिँदै झिनो अङ्कको वृद्धि सहित बन्द भएको हो।

शुक्रबार नेप्से परिसूचक १.५४ अङ्कले बढेर २७८८.७० विन्दुमा पुगेको छ। नेप्सेमा सामान्य सुधार देखिए पनि ठूला कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इण्डेक्स भने ०.२० अङ्कले घटेको छ।

बजार परिसूचकसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा सुधार आएको छ। बिहीबार ५ अर्ब ९ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ५ अर्ब २७ करोड ३ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। दिनभरिमा ३५१ कम्पनीका १ करोड २१ लाख ७४ हजार कित्ता शेयर कुल ७५ हजार २२९ पटक किनबेच भएका छन्।

सर्किट लेभलमा तीन कम्पनी

बजारमा झिनो सुधार भए पनि तीनवटा कम्पनीका शेयरधनीले भने उल्लेख्य नाफा कमाएका छन्। पाल्पा सिमेन्ट इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्ट र माइ खोला हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य साढे १२ प्रतिशतभन्दा बढीले बढेको छ। घट्ने कम्पनीहरूको गिरावट दर भने ४ प्रतिशतभन्दा कम नै सीमित रह्यो।

रिडी हाइड्रोपावरको सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको २७ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यसैगरी रिलायन्स स्पिनिङ्ग मिल्सको २५ करोड र नेशनल हाइड्रोपावरको २४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

उपसमूहगत अवस्था

शुक्रबार कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ वटाको घटेको छ। बढ्नेहरूमा बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूह रहेका छन्। अन्य उपसमूहको परिसूचक भने सबैभन्दा धेरै १.०२ प्रतिशतले ओरालो लागेको छ।