एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट ‘एसटीपी अवार्ड २०२५’ प्राप्त

-



     सफल आवाज    
     वैशाख ११ गते २०८३ मा प्रकाशित



काठमाडौं, ११ वैशाख । एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रको प्रतिष्ठित ‘एसटीपी (Straight Through Processing) अवार्ड २०२५’ प्राप्त गरेको छ ।

व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत जर्मनीको प्रसिद्ध कमर्ज बैंक एजीले एनएमबि बैंकलाई यो सम्मान प्रदान गरेको हो ।

अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई पूर्ण रूपमा स्वचालित, सरल र त्रुटिरहित ढंगले सम्पादन गर्ने सीमित बैंकहरूले मात्र यो अवार्ड प्राप्त गर्ने गर्दछन् । यो अवार्डले एनएमबि बैंकको प्राविधिक सक्षमता, कार्यगत अनुशासन र अन्तर्राष्ट्रिय स्तरको भरपर्दो बैंकिङ सेवा प्रवाहप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

यस उपलब्धिबारे खुसी व्यक्त गर्दै एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भन्नुभयो, “हाम्रा ग्राहकहरूका लागि अन्तर्राष्ट्रिय बैंकिङलाई सरल र सहज बनाउने हाम्रो निरन्तर प्रयासको यो प्रतिफल हो । उच्च मापदण्ड कायम राख्दै हामी आगामी दिनमा पनि अझ छिटो र सुरक्षित सेवा प्रदान गर्न प्रतिबद्ध छौँ ।”

यस सम्मानले एनएमबि बैंकलाई विश्वव्यापी वित्तीय पहुँच, वैदेशिक व्यापार र लगानीका लागि एक विश्वसनीय साझेदारको रूपमा स्थापित गर्न थप मद्दत पुग्ने बैंकको विश्वास छ ।

हाल एनएमबि बैंकले देशभर रहेका १९८ शाखा, १८४ एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।