
दुबई, १८ वैशाख । क्षेत्रीय तनाव चर्किंदै जाँदा इरानका सर्वोच्च नेताले देशको आणविक तथा क्षेप्यास्त्र क्षमतामा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश दिएका छन् । अमेरिकी दबाब र युद्धविरामको अनिश्चित अवस्थाबीच आएको यो अभिव्यक्तिलाई इरानले आफ्नो रणनीतिक अडान अझ कडा बनाएको सङ्केतका रूपमा हेरिएको छ ।
राज्य टेलिभिजनमार्फत सार्वजनिक गरिएको वक्तव्यमा अयातुल्ला मोजताबा खमेनीले इस्लामिक गणतन्त्रका वैज्ञानिक, प्राविधिक र सैन्य क्षमताहरू राष्ट्रिय पहिचानसँग जोडिएको बताउँदै तिनको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले पर्सियन खाडी क्षेत्रमा अमेरिकी उपस्थितिमाथि कटाक्ष गर्दै त्यहाँको अवस्थालाई ‘इतिहासको नयाँ अध्याय’ का रूपमा व्याख्या गर्नुभयो ।
आफ्नो बुबाको हवाई आक्रमणमा मृत्यु भएपछि सर्वोच्च नेतृत्व सम्हालेका खमेनी हालसम्म सार्वजनिक रूपमा देखा पर्नुभएको छैन । देशको अर्थतन्त्र अमेरिकी नाकाबन्दीका कारण दबाबमा परेको बेला इरानको यस्तो अडान आएको हो । अमेरिकी नौसेनाले इरानी तेल ट्याङ्करहरूको आवागमन रोकेपछि निर्यात प्रभावित भएको छ भने विश्व बजारमा तेल आपूर्ति अस्थिर बनेको छ । हर्मुज जलघाँटीमा इरानको प्रभावका कारण विश्वको झण्डै पाँचौँ हिस्सा कच्चा तेल ढुवानी प्रभावित भइरहेको छ ।
यसै सन्दर्भमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १२६ डलरसम्म पुगेको छ । ऊर्जा आपूर्तिमा आएको दबाबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि राजनीतिक तथा आर्थिक दबाब बढाएको छ । उहाँले खाडी क्षेत्रमार्फत तेल ढुवानी पुनः सुरु गराउन नयाँ योजना अघि सारेको बताइएको छ । प्रस्तावित योजनाअनुसार अमेरिका इरानी बन्दरगाहमाथिको नाकाबन्दी जारी राख्दै सहयोगी राष्ट्रहरूसँग मिलेर इरानको हस्तक्षेपलाई महँगो बनाउने रणनीतिमा अघि बढ्ने तयारीमा रहेको छ ।
यसैबीच, अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना कूटनीतिज्ञहरूलाई ‘समुद्री स्वतन्त्रता’ कायम गर्ने पहलमा सहयोग जुटाउन निर्देशन दिएको छ । उक्त पहलले हर्मुज जलघाँटीमा निर्बाध आवागमन सुनिश्चित गर्ने लक्ष्य राखेको बताइएको छ । अमेरिकी पक्षले यसलाई अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षाका लागि आवश्यक रक्षात्मक कदमको रूपमा व्याख्या गरेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




