आगामी बजेटले जनतामा आशा जगाउँछ : अर्थमन्त्री डा. वाग्ले

-



     सफल आवाज    
     वैशाख २१ गते २०८३ मा प्रकाशित



काठमाडौं, २१ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि जनतामा आशा जगाउने र अर्थतन्त्रलाई गतिशील बनाउने किसिमको बजेट ल्याउने उद्घोष गर्नुभएको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले उक्त प्रतिबद्धता जनाउनुभएको हो।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई विकासको प्रमुख सारथी बनाउने बताउँदै आर्थिक वृद्धि, रोजगारी सिर्जना र लगानी विस्तारमा निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

सम्बोधनका मुख्य बुँदाहरू:

  • निजी क्षेत्रको प्रवर्द्धन: मन्त्रिपरिषद्मा निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनसम्बन्धी रणनीतिक प्रस्ताव पेस गरिएको जानकारी दिँदै अर्थमन्त्रीले १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
  • ऐन नियममा सुधार: आर्थिक प्रगतिमा बाधक देखिएका करिब दुई दर्जन पुराना ऐनहरू खारेज गर्ने योजना अघि बढाइएको उहाँले बताउनुभयो। राजस्व प्रशासनमा सुधार गरी कर प्रणालीलाई उद्यम र लगानीमैत्री बनाइने उहाँको भनाइ छ।
  • अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा: “सरकारको स्रोत सीमित छ, कूल गार्हस्थ्य उत्पादन (जीडिपी) मा सरकारी खर्च २५ देखि ३० प्रतिशत मात्र छ, बाँकी सबै गतिविधि निजी क्षेत्रले नै चलाएको छ,” मन्त्री वाग्लेले भन्नुभयो।
  • सामाजिक बजार अर्थतन्त्र: सरकारले ‘सामाजिक बजार अर्थतन्त्र’को अवधारणा पछ्याउने उहाँले प्रस्ट पार्नुभयो। यसअन्तर्गत शिक्षा, स्वास्थ्य, यातायात र सामाजिक सुरक्षा जस्ता क्षेत्रमा आयको समतामूलक वितरण सुनिश्चित गर्दै निजी क्षेत्रको नवप्रवर्तनलाई प्रोत्साहन गरिनेछ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको गतिशीलतालाई सरकारले पूर्ण समर्थन गर्ने र लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न कुनै कसर बाँकी नराख्ने विश्वास दिलाउनुभयो।