नेप्सेमा पहिरो: ३४ अंकको गिरावट, कारोबार रकम पनि घट्याे

-



     सफल आवाज    
     वैशाख २१ गते २०८३ मा प्रकाशित



काठमाडौं, २१ वैशाख । साताको पहिलो शेयर कारोबार हुने दिन सोमबार नेपाली शेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि ओरालो लागिरहेको बजारले यस दिन पनि सोही घट्दो क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८ विन्दुमा झरेको छ। नेप्सेसँगै ठूला कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स पनि ३.३७ अंकले गिरावट आएको छ।

कारोबार विवरण

बजार ओरालो लाग्दा कारोबार रकममा पनि गत बिहीबारको तुलनामा कमी देखिएको छ। आज ३४१ कम्पनीको ६८ हजार ६३५ पटकको कारोबारमा ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँ बराबरको १ करोड ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत बिहीबार ४ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको थियो।

बढ्ने र घट्ने कम्पनीहरू

बजारमा समग्र गिरावट आए पनि फरवार्ड माइक्रोफाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सो संस्थाको शेयर मूल्य १६४.४० रुपैयाँले बढेर प्रति कित्ता १,२६०.४० रुपैयाँ पुगेको छ। यस्तै, झापा इनर्जीको शेयर मूल्य ८ प्रतिशतले वृद्धि भएको छ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। यस बैंकको शेयर मूल्य सर्वाधिक १२.५८ प्रतिशतले घटेको छ।

सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। यसको ३१ करोड ३६ लाख रुपैयाँको शेयर किनबेच भयो। रिलायन्स स्पिनिङ्ग मिल्स (१८ करोड) र नेशनल हाइड्रोपावर (साढे १५ करोड) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

उपसमूहगत अवस्था

आज कारोबारमा आएका १३ उपसमूहमध्ये लघुवित्त उपसमूह मात्र सामान्य (०.०२ अंक) हरियो देखियो। बाँकी १२ वटै उपसमूहको सूचक घटेका छन्। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै २.५४ प्रतिशतले घटेको छ। विकास बैंक र जलविद्युत उपसमूह पनि २ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।