
काठमाडौं, २५ वैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी पीडितहरूलाई सरकारी कोषको रकम वितरण नगर्ने स्पष्ट पारेका छन्। सहकारी पत्रकार समाजद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बचतकर्ताको पैसा सहकारीका सञ्चालक र अपचलन गर्नेहरूबाटै असुल गरेर फिर्ता गराइने बताए।
सरकारले बजेटमार्फत विनियोजन गरेको २५ करोड रुपैयाँ सिधै बचतकर्तालाई बाँड्न नभई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि ‘बीउपूँजी’ (Seed Money) को रूपमा परिचालन गरिने उनले प्रष्ट पारे।
असुलीमा कडाइ र संरचनागत सुधार
सचिव भुजेलले सहकारीको रकम अपचलन गर्नेहरूको खोजी र असुली कार्यलाई तीव्र बनाइएको जानकारी दिए। उनले भने, “हाम्रो ध्यान असुलीमा केन्द्रित छ। जसले रकम अपचलन गरेका छन्, उनीहरूबाटै असुल गरेर बचत फिर्ता गर्ने हो, सरकारी कोषबाट बाँड्ने होइन।”
सहकारी संकटको मुख्य कारण सञ्चालक र व्यवस्थापकहरूको ‘बदमासी’ र गलत नियत भएको उनले बताए। हाल एउटै व्यवस्थापन समितिले २० वटा समस्याग्रस्त सहकारी हेर्नुपर्दा कठिनाइ भइरहेको स्वीकार गर्दै उनले प्रत्येक समस्याग्रस्त सहकारीका लागि छुट्टै कार्यालय हुनुपर्ने धारणा समेत राखे।
नियमनका लागि नयाँ संयन्त्र र ऐन संशोधन
सहकारी क्षेत्रलाई व्यवस्थित गर्न सरकारले निम्न कदमहरू चाल्न लागेको सचिव भुजेलले जानकारी दिए:
- छुट्टै नियमनकारी संयन्त्र: बचत तथा ऋण सहकारीको प्रभावकारी नियमनका लागि राष्ट्र बैंकको सट्टा छुट्टै स्वायत्त र अधिकारसम्पन्न प्राधिकरण बनाउने तयारी भइरहेको छ।
- अधिकारको बाँडफाँट: ऐन संशोधनमार्फत प्रदेश र स्थानीय तहलाई पनि आफ्नो कार्यक्षेत्रभित्रका सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने र बचत फिर्ताको व्यवस्थापन गर्ने अधिकार दिन लागिएको छ।
- संघहरूको भूमिकामा फेरबदल: सहकारी संघ-महासंघहरू प्रवद्र्धन भन्दा कारोबारमा केन्द्रित भएकाले समस्या बढेको भन्दै अब संघहरूलाई बचत तथा ऋणको कारोबार बन्द गर्न वा बैंकमा परिणत हुन ३ वर्षको संक्रमणकालीन समय दिने विषयमा छलफल भइरहेको छ।
सचिव भुजेलले सहकारी विभागको भूमिकालाई कायम राख्दै समग्र नियमनकारी संरचनामा व्यापक सुधार गर्न सरकार लागिपरेको बताए। उनले सहकारीहरू स्वायत्त संस्था भए पनि स्व-नियमनमा नचल्दा हजारौँ बचतकर्ताको रकम जोखिममा परेको उल्लेख गर्दै अब बन्ने ऐनले यस्ता विकृतिलाई नियन्त्रण गर्ने विश्वास व्यक्त गरे।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




