परिसंघद्वारा अर्थमन्त्रीलाई सुझाव पेश: १० वर्षसम्म नीति फेर्न नपाइने माग

-



     सफल आवाज    
     वैशाख २७ गते २०८३ मा प्रकाशित



काठमाडौं, २७ वैशाख । नेपाल उद्योग परिसंघ (CNI) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष विस्तृत सुझाव पेश गरेको छ।

निजी क्षेत्रलाई विकासको मुख्य इन्जिनका रूपमा स्वीकार गर्दै उद्योग विस्तार र लगानी वृद्धिमा केन्द्रित बजेट ल्याउन परिसंघले सरकारको ध्यानाकर्षण गराएको हो।

परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थमन्त्रीलाई सुझाव बुझाउँदै आय आर्जन र सम्पत्ति सिर्जनालाई प्रोत्साहन गर्ने नीति लिनुपर्नेमा जोड दिनुभयो। “यी सुझावहरूको कार्यान्वयनले अर्थतन्त्रको विस्तार, रोजगारी सिर्जना र लगानीको वातावरणमा उल्लेख्य सुधार ल्याउनेछ,” अध्यक्ष पाण्डेले भन्नुभयो।

परिसंघका मुख्य माग तथा सुझावहरू:

  • औद्योगिक नीतिमा स्थायित्व: औद्योगिक नीतिमा कम्तिमा १० वर्षको स्थायित्व हुनुपर्ने र कच्चा पदार्थ तथा तयारी वस्तुको भन्सार दरमा कम्तिमा २ तहको फरक हुनुपर्ने।
  • कर सहुलियत: ४० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगलाई विशेष कर छुटको व्यवस्था गर्नुपर्ने।
  • आयकर सीमामा हेरफेर: एकल व्यक्तिको आयकर छुटको न्यूनतम सीमा बढाएर १० लाख रुपैयाँ पुर्याउन र समग्र आयकरको दर घटाउनुपर्ने।
  • कानुनी सुधार: विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ खारेज गरी नयाँ र स्पष्ट प्रावधान ल्याउनुपर्ने तथा उद्योगका लागि आवश्यक जग्गामा हदबन्दी नलाग्ने व्यवस्था गर्नुपर्ने।
  • व्यापार सहजीकरण: कर प्रशासनलाई पूर्ण डिजिटल बनाउनुपर्ने, चोरी पैठारी नियन्त्रण गर्नुपर्ने र भारतसँगको व्यापारमा एनएस (NS) र आईएसआई (ISI) चिन्हलाई पारस्परिक मान्यता दिलाउन पहल गर्नुपर्ने।

सरकारको प्रतिवद्धता

सुझाव ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रको लगानी विना आर्थिक विकास सम्भव नभएकोमा सरकार प्रष्ट रहेको बताउनुभयो। उहाँले कानुनी र कर प्रणालीमा सुधार आवश्यक रहेको स्वीकार गर्दै सम्पत्ति आर्जन गर्ने विषयलाई राज्यले सकारात्मक रूपमा हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

सो अवसरमा परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, पूर्व अध्यक्षहरु हरिभक्त शर्मा र विष्णुकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।