काठमाडौं, २ जेठ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । विभिन्न आन्तरिक तथा बाह्य चुनौतीका बावजुद देशको समष्टिगत आर्थिक सूचकहरूमा क्रमिक सुधार देखिएको राष्ट्र बैंकको समीक्षाले औंल्याएको छ ।
आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने अनुमान
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमानलाई उद्धृत गर्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत कायम रहने जनाएको छ ।
मौसमको प्रतिकूलता र बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशतमा खुम्चिए तापनि गैर-कृषि क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाएको छ । समीक्षा अनुसार उद्योग क्षेत्रमा ५.६७ प्रतिशत र सेवा क्षेत्रमा ४.२१ प्रतिशतको उत्साहजनक वृद्धि हुने अनुमान छ ।
यस वर्ष कुल गार्हस्थ्य उत्पादन (GDP) मा लगानीको हिस्सा बढेको छ । थोक तथा खुद्रा व्यापार, पर्यटन, जलविद्युत, वित्तीय तथा बीमा, यातायात, र सूचना प्रविधि (IT) क्षेत्रको विस्तारले बजारमा समष्टिगत माग क्रमशः बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ ।
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, तर महँगी नियन्त्रणमै
विश्वव्यापी भूराजनीतिक तनाव, विशेष गरी पश्चिम एसिया (मध्यपूर्व) को युद्धका कारण आपूर्ति शृङ्खला प्रभावित भएको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधि (२०८२ फागुन १६ देखि २०८३ वैशाख ३१ सम्म) मा नेपालमा पेट्रोलको मूल्य ३५ प्रतिशत र डिजेलको मूल्यमा ५८ प्रतिशतको गम्भीर वृद्धि भएको छ ।
इन्धनको मूल्यमा उच्च वृद्धि भए तापनि चालु आर्थिक वर्षको तेस्रो त्रयमाससम्मको औसत उपभोक्ता मुद्रास्फीति (महँगी) २.३९ प्रतिशत मात्रै रहेको छ । यो राष्ट्र बैंकले तोकेको लक्षित सीमाभित्रै रहेकाले वार्षिक औसत महँगी नियन्त्रणमै रहने प्रक्षेपण गरिएको छ । तर, पश्चिम एसियाको तनाव लम्बिएमा महँगीमा थप चाप पर्ने जोखिम कायमै छ ।
बाह्य क्षेत्र बलियो, रेमिट्यान्समा पश्चिम एसियाको दबाब
देशको बाह्य आर्थिक स्थिति भने निकै सहज अवस्थामा रहेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरूबाट आउने विप्रेषण (रेमिट्यान्स) मा उल्लेखनीय वृद्धि भएको छ । यसले गर्दा चालु खाता र शोधनान्तर स्थिति (Balance of Payments) बचतमा छ भने विदेशी मुद्रा सञ्चिति (Foreign Exchange Reserve) पनि लगातार बढिरहेको छ । राष्ट्र बैंकका अनुसार हालको विदेशी मुद्रा सञ्चितिले वस्तु तथा सेवा आयात धान्ने क्षमता बैंकको लक्ष्यभन्दा माथि रहनेछ ।
तर, नेपाल भित्रिने कुल रेमिट्यान्सको झण्डै ४० प्रतिशत हिस्सा पश्चिम एसियाली मुलुकहरूबाट आउने भएकाले त्यहाँको द्वन्द्वले रेमिट्यान्स, इन्धन आयात र व्यापार घाटामा नकारात्मक असर पारी विदेशी मुद्रा सञ्चितिमा दबाब सृजना गर्न सक्ने चेतावनी समेत बैंकले दिएको छ ।
बैंकहरूमा अधिक तरलता, वित्तीय क्षेत्र सुरक्षित
बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा (NPL) मा सामान्य वृद्धि भए तापनि आर्थिक गतिविधि सञ्चालन भएसँगै यसमा सुधार आउने अपेक्षा गरिएको छ । २०८२ चैत मसान्तसम्मको तथ्याङ्क अनुसार बैंकहरूको प्राथमिक पुँजी र पुँजीकोष अनुपात नियामकीय मापदण्डभित्रै रहेकाले समग्र वित्तीय स्थायित्व सुरक्षित रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
यसैगरी, विगत तीन वर्षदेखि वित्तीय प्रणालीमा लगातार ‘अधिक तरलता’ (लगानीयोग्य रकम थुप्रिने अवस्था) रहँदै आएको छ । लामो समयसम्म प्रणालीमा पैसा थुप्रिँदा अन्य आर्थिक सूचकमा पर्न सक्ने नकारात्मक प्रभावलाई व्यवस्थापन गर्न केन्द्रीय बैंक सजग रहेको र आवश्यक कदम चाल्ने समीक्षामा उल्लेख छ ।
सरकारले शासकीय, आर्थिक र कानुनी सुधारलाई प्राथमिकता दिएको तथा विद्यमान खुकुलो मौद्रिक कार्यदिशालाई निरन्तरता दिइएकाले आगामी दिनमा लगानी बढेर आर्थिक क्रियाकलापमा थप तेजी आउने राष्ट्र बैंकको विश्वास छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




