डिजिटल कारोबारमा छलाङ-चैतमा मात्रै ९४ खर्ब बढीको भुक्तानी, मोबाइल बैंकिङ लोकप्रिय

-



     सफल आवाज    
     जेठ ३ गते २०८३ मा प्रकाशित



काठमाडौं, ३ जेठ । मोबाइलको बढ्दो प्रयोग र इन्टरनेट पहुँच विस्तारसँगै नेपालमा विद्युतीय (डिजिटल) भुक्तानी कारोबार तीव्र रूपमा बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नवीनतम तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनामा मात्रै डिजिटल माध्यमबाट ९४ खर्ब ७२ अर्ब १० करोड ८ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ ।

केन्द्रीय बैंकले डिजिटल कारोबारका माध्यमहरूलाई १६ वटा शीर्षकमा वर्गीकरण गरेर तथ्यांक अद्यावधिक गर्दै आएको छ । ती विभिन्न माध्यमहरू भई चैत महिनामा मात्रै कुल २२ करोड २९ लाख ४८ हजार १४७ पटक डिजिटल भुक्तानीका कारोबारहरू भएका छन् ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधि (चैत महिना) मा भने १५ करोड ९४ लाख १ हजार ६४५ पटकमा २० खर्ब ९४ अर्ब २१ करोड ९ लाख रुपैयाँ बराबरको मात्र डिजिटल भुक्तानी भएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष भएको यो ठुलो वृद्धिले नेपाली उपभोक्ताहरू माझ डिजिटल कारोबारप्रतिको विश्वास र प्रयोग उल्लेखनीय रूपमा बढ्दै गएको पुष्टि गर्छ ।

हाल उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरूमध्ये प्रयोगकर्ताहरूबीच मोबाइल बैंकिङ सबैभन्दा लोकप्रिय माध्यमका रूपमा स्थापित हुँदै गएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनामा मात्रै मोबाइल बैंकिङमार्फत ७ करोड ४४ लाख ६६ हजार ८८४ पटकमा ६ खर्ब १८ अर्ब ७१ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

गत वर्षको सोही अवधिमा भने ५ करोड ६१ लाख ९१ हजार ७१७ पटकमा ४ खर्ब ५० अर्ब ४५ करोड ३ लाख रुपैयाँको मात्र कारोबार भएको थियो ।

नेपालमा सन् २००४ देखि व्यावसायिक रूपमा मोबाइल बैंकिङ सेवा सुरु भएको इतिहास छ । सुरुवाती दिनमा जानकारीमूलक (SMS) सेवामा मात्र सीमित रहेको मोबाइल बैंकिङ, दुई दशकको अवधि पार गर्दा प्रविधिमा आएको क्रान्तिसँगै अहिले सर्वसाधारणको दैनिक जीवनयापन र साना-ठुला व्यवसायको भुक्तानीको मुख्य मेरुदण्ड बन्न सफल भएको छ । फाेटाे :एआइ सिर्जित