आगामी बजेटमा व्यापक सुधारवादी आउने-अर्थमन्त्री वाग्ले

-



     सफल आवाज    
     जेठ ४ गते २०८३ मा प्रकाशित



काठमाडौं, ४ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताएका छन्।

काठमाडौँमा सोमवार आयोजित ‘नेपाल विजनेश समिट’ लाई सम्बोधन गर्दै उनले नेपाली जनताले दिएको अभूतपूर्व जनादेशलाई शिरोधार्य गर्दै सरकारले यी क्षेत्रलाई केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट पारे।

विगत १०–१५ वर्षको कुशासनका कारण नेपाली समाजले ठूलो मूल्य चुकाउनुपरेको भन्दै अर्थमन्त्री वाग्लेले अब मुलुकलाई त्यसबाट मुक्त गराइने प्रतिबद्धता व्यक्त गरे। उनले ‘सुशासनको लाभांश’ (Governance Dividend) नेपाली समाजको तल्लो तहसम्म फैलाउने सरकारको लक्ष्य रहेको बताउँदै आगामी बजेट व्यापक सुधारवादी (Reformist) आउने घोषणा गरे।

ई-गभर्नेन्स र डिजिटल अर्थतन्त्रमा जोड

सुशासन प्रवर्द्धनका लागि संस्थागत तथा कानुनी सुधारका साथै दर्जनौँ ऐनहरू संशोधन गर्न लागिएको अर्थमन्त्रीले जानकारी दिए। “अब सूचना प्रविधि र डिजिटाइजेसनको व्यापक प्रयोग गरिनेछ,” उनले भने, “ई–गभर्नेन्स, सार्वजनिक सेवा प्रवाह र डिजिटल अर्थतन्त्रको बलियो आधार निर्माणमा सरकारले विशेष प्राथमिकता दिइरहेको छ।”

रेमिट्यान्सको निर्भरता घटाउने ‘पञ्चशील’ रणनीति

नेपालको अर्थतन्त्र विगत दुई दशकमा अत्यधिक रूपमा विप्रेषण (रेमिट्यान्स) मा आधारित बनेको भन्दै उनले अब दिगो आर्थिक वृद्धिका स्रोत निर्माणमा जोड दिनुपर्ने आवश्यकता औंल्याए। आगामी दशकहरूमा रेमिट्यान्समाथिको निर्भरता क्रमशः घटाउँदै लैजान सरकारले ५ वटा मुख्य आधारहरू तय गरेको उनले बताए: १. स्वच्छ ऊर्जा (Clean Energy) २. डिजिटाइजेसन (Digitization) ३. पर्यटन (Tourism) ४. हरित उत्पादन (Green Manufacturing) ५. उच्च मूल्यको कृषि (High-value Agriculture)

युवाहरूलाई अर्थमन्त्रीको सन्देश: “युवाहरूलाई नेपालमै बसेर विश्व बजारसँग जोड्ने गरी डिजिटल अर्थतन्त्र निर्माणमा सरकारले विशेष ध्यान दिनेछ। केही क्षेत्रहरूमा आयात प्रतिस्थापन र औद्योगिक नीति सञ्चालनका लागि सरकारले चाँडै नयाँ कार्यक्रमहरू अघि बढाउँदैछ।”

एकीकृत पूर्वाधार र निजी क्षेत्रको लगानी

पूर्वाधार विकासमा सरकारले परम्परागत शैली छाडेर एकीकृत दृष्टिकोण (Integrated Approach) अपनाउने अर्थमन्त्री वाग्लेको भनाइ थियो। यसअन्तर्गत सडक सञ्जाल विस्तार, ऊर्जा कनेक्टिभिटी, स्वच्छ ऊर्जा ग्रिड, भरपर्दो इन्टरनेट सेवा र उड्डयन सुरक्षामा विशेष जोड दिइनेछ। नेपाललाई आन्तरिक, क्षेत्रीय र विश्व बजारसँग थप मजबुत रूपमा जोड्ने लक्ष्य सरकारले राखेको छ।

यद्यपि, भौतिक पूर्वाधार विस्तारमा सरकारको पूँजीगत खर्च मात्र पर्याप्त नहुने भन्दै उनले यसमा निजी क्षेत्रको ठूलो लगानी आवश्यक रहेको उल्लेख गरे।

सामाजिक सुरक्षा र एनआरएनएलाई नयाँ दृष्टि

अर्थमन्त्रीका अनुसार सरकारले सामाजिक क्षेत्रतर्फ गुणस्तरीय स्वास्थ्य, शिक्षा, पोषण, आधारभूत वित्तीय पहुँच र दिगो सामाजिक सुरक्षा संरचना निर्माणलाई प्राथमिकतामा राखेको छ।

साथै, वैदेशिक सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाइने बताउँदै उनले विश्वभर रहेका गैरआवासीय नेपालीहरू (NRN) को सञ्जाललाई केवल भावनात्मक सम्बन्धमा मात्र सीमित नराखी लगानी, शैक्षिक आदानप्रदान र सांस्कृतिक प्रभाव विस्तारको बलियो माध्यमका रूपमा उपयोग गरिने स्पष्ट पारे।