नासा नेपालद्वारा हेल्मेट मापदण्ड सम्बन्धी नीतिगत संवाद सम्पन्न

-



     सफल आवाज    
     जेठ ४ गते २०८३ मा प्रकाशित



काठमाडौं, ४ जेठ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआईए) र एआईपी फाउन्डेसनको सहयोगमा ‘हेड्स अप’ अभियान अन्तर्गत हेल्मेट कानून तथा मापदण्ड सम्बन्धी नीतिगत संवाद (पोलिसि डाइलग) कार्यक्रम सम्पन्न गरेको छ।

दुईपाङ्ग्रे सवारी साधनको बढ्दो दुर्घटना र त्यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा सरकारी निकाय, स्वास्थ्य क्षेत्र, सडक सुरक्षा विज्ञ, प्राविधिक क्षेत्रका प्रतिनिधि, युवा तथा बालबालिकासहित करिब ६० जनाको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै नासा नेपालका परियोजना संयोजक सुवास भट्टराईले संस्थाले सडक सुरक्षाका क्षेत्रमा गरिरहेका गतिविधि र हाल सञ्चालनमा रहेको “हेड्स अप” अभियानको महत्त्वबारे प्रकाश पार्नुभएको थियो।

गुणस्तरीय हेल्मेट र कानुनी कडाइको आवश्यकता

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थोपेडिक सर्जन डा. सतीश प्रसाद बर्नवालले दुईपाङ्ग्रे सवारी दुर्घटनाबाट हुने गम्भीर चोटपटक तथा मस्तिष्कको क्षति (हेड इन्जुरी) रोक्न गुणस्तरीय हेल्मेटको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। त्यस्तै, नेपाल प्रहरीको राजमार्ग एण्ड ट्राफिक व्यवस्थापन महाशाखाका एसएसपी भुवनेश्वर तिवारीले विद्यमान कानुनी व्यवस्था, सडक सुरक्षाका चुनौती र यसमा विभिन्न सरोकारवाला निकायले खेल्नुपर्ने भूमिकाबारे आफ्नो प्रस्तुति राख्नुभएको थियो।

सडक सुरक्षा विज्ञ भगवती सेडाइले नेपालमा राष्ट्रिय हेल्मेट मापदण्डको तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो। उहाँले चालक मात्र नभई मोटरसाइकल वा स्कुटरको पछाडि बस्ने (पिलियन राइडर) दुवैले अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्ने व्यवस्थालाई सरकारले कडाइका साथ लागू गर्नुपर्ने धारणा राख्नुभयो।

सरकारले प्राथमिकता नदिएको गुनासो

काठमाडौं विश्वविद्यालयका प्रा.डा. ड्यानियल तुलाधर र राष्ट्रिय सडक सुरक्षा परिषद्का सरोज कुमार प्रधान लगायतले हेल्मेटको गुणस्तर मापन गर्ने संयन्त्र र प्रभावकारी सडक सुरक्षा नीतिको खाँचो औंल्याउनुभयो। नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले सरकारले सडक सुरक्षा तथा सुरक्षित र ‘डबल हेल्मेट’को विषयलाई पर्याप्त प्राथमिकता नदिएको आरोप लगाउँदै यसका लागि बलियो नीति र चुस्त कार्यान्वयनको माग गर्नुभयो।

बालबालिकालाई ‘चाइल्ड हेल्मेट’ वितरण

कार्यक्रमको समापन अवसरमा सडक सुरक्षामा बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै १५ जना बालबालिकाहरुलाई ‘चाइल्ड हेल्मेट’ हस्तान्तरण गरिएको थियो। उक्त हेल्मेट नासा नेपालका अध्यक्ष दशरथ रिसाल, सल्लाहकार ठाकुरप्रसाद न्यौपाने, डा. शिवजी यादव, हिसान नेपालका महासचिव रामहरि सिलवाल लगायतका अतिथिहरूले संयुक्त रूपमा वितरण गर्नुभएको हो।

नासा नेपालले ‘हेड्स अप’ अभियान अन्तर्गत देशव्यापी रूपमा राष्ट्रिय हेल्मेट मापदण्डको कार्यान्वयन, डबल हेल्मेटको प्रयोग र चाइल्ड हेल्मेट प्रवर्द्धनका लागि जनचेतना तथा एड्भोकेसी (पैरवी) अभियानलाई निरन्तरता दिँदै आएको छ।