
काठमाडौं, ५ जेठ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएसँगै नेपाली जीवन बीमा बजारमा रोचक दृश्य देखिएको छ। बजारमा नयाँ र पुराना कम्पनीहरूबीचको व्यावसायिक प्रतिस्पर्धा र मर्जरपछिको ‘सिनर्जी’ को प्रभाव कम्पनीहरूको नाफा र प्रतिशेयर आम्दानी (ईपीएस) मा स्पष्ट रूपमा प्रतिविम्बित भएको छ।
समीक्षा अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स नाफा र प्रतिशेयर आम्दानी दुवै सूचकमा बजारकै ‘टप’ कम्पनी बन्न सफल भएको छ।
रिलायबल नेपाल पहिलो, आईएमई र नेशनल लाइफ पछ्याउँदै
रिलायबल नेपाल लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यससँगै कम्पनीले प्रतिशेयर आम्दानीलाई १२.०७ रुपैयाँको उच्च विन्दुमा पुर्याएको छ, जुन गत वर्षको तुलनामा करिब १ प्रतिशतको सुधार हो। यो तथ्यांकले प्रविधि र चुस्त व्यवस्थापनका कारण नयाँ कम्पनीहरूले पुराना र स्थापित कम्पनीहरूलाई कडा चुनौती दिइरहेको संकेत गर्दछ।
त्यस्तै, आईएमई लाइफ ९.८१ रुपैयाँ र नेशनल लाइफ ९.७६ रुपैयाँ प्रतिशेयर आम्दानी (ईपीएस) का साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यी कम्पनीहरूले आफ्नो नाफा र ईपीएसमा सामान्य अंकको फेरबदलसहित व्यावसायिक स्थिरता कायम राखेका छन्।
मर्जर भएका र ‘ब्लुचिप’ कम्पनीको नाफामा पहिरो
पछिल्लो समय मर्जरमा गएर ठूलो पूँजी बनाएका कम्पनीहरूको प्रतिफल भने लगानीकर्ताका लागि चिन्ताको विषय बनेको छ। विशेषगरी हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा ४४.६६ प्रतिशतको पहिरो गएको छ भने यसको प्रतिशेयर आम्दानी ३.८१ रुपैयाँमा खुम्चिएको छ। यसले मर्जरपछि खर्च व्यवस्थापन र व्यावसायिक विस्तारको सन्तुलन मिलाउन कम्पनीलाई कठिन भइरहेको बुझ्न सकिन्छ।
यता बजारको अग्रणी नेपाल लाइफ इन्स्योरेन्सको नाफामा पनि ३०.२५ प्रतिशतको संकुचन आएको छ। गत वर्ष ६५ करोड २२ लाख रुपैयाँ नाफा कमाएको नेपाल लाइफको नाफा यस वर्ष ४५ करोड ४८ लाख रुपैयाँमा झरेको छ। यद्यपि, नेपाल लाइफले आफ्नो जगेडा कोष र जीवन बीमा कोषलाई २ खर्ब ६५ अर्ब रुपैयाँ पुर्याएर दीर्घकालीन सुरक्षाको प्रत्याभूति भने गराएको छ, तर तत्कालको प्रतिफल (ईपीएस) मा भने उल्लेख्य गिरावट देखिएको छ।
एलआइसी नेपाल र सूर्यज्योति लाइफको उत्कृष्ट वृद्धिदर
वृद्धिदरका आधारमा भने लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले ३५.७८ प्रतिशतको छलाङ मार्दै बजारलाई आश्चर्यमा पारेको छ। गत वर्ष २३ करोड ६० लाख नाफा कमाएको एलआइसीले आन्तरिक व्यवस्थापनमा सुधार गर्दै यस वर्ष ३२ करोड ४ लाख रुपैयाँ नाफा पुर्याएको छ।
त्यस्तै, सूर्यज्योति लाइफले पनि ११.६९ प्रतिशतको दोहोरो अंकको वृद्धि गर्दै ३३ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। सिटीजन लाइफले भने आफ्नो व्यवसायलाई सन्तुलित राख्दै स्थिरता तर्फ जोड दिएको छ।
पूँजी वृद्धिको चाप र आगामी चुनौती
समग्रमा, बजारका १२ वटा जीवन बीमा कम्पनीको तथ्यांक विश्लेषण गर्दा बीमा शुल्क संकलन र कोषको आकार बढ्दै गए पनि खुद नाफामा भने ठूला कम्पनीहरूलाई दाबी भुक्तानी र व्यवस्थापकीय खर्चले थिचेको देखिन्छ।
सानिमा रिलायन्स, प्रभु महालक्ष्मी र सन नेपाल लाइफको ईपीएसमा आएको गिरावटले बोनस शेयरमार्फत बढेको चुक्ता पूँजी र व्यावसायिक मुनाफाको अनुपात नमिल्दा प्रतिशेयर आम्दानीमा चाप परेको स्पष्ट पार्छ।
बीमा क्षेत्रमा देखिएको यो उतारचढावले आगामी दिनमा कम्पनीहरूले परम्परागत व्यवसायलाई भन्दा पनि डिजिटल पहुँच, लागत नियन्त्रण र दक्ष लगानी व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने आवश्यकतालाई औंल्याएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




