प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जवाफदेही नभएकाे भन्दै राईले मागे राजिनामा

-



     सफल आवाज    
     जेठ ७ गते २०८३ मा प्रकाशित



काठमाडौं, ७ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै सांसद राईले प्रधानमन्त्री साह संसदप्रति उत्तरदायी र जवाफदेही नभएको आरोप लगाउँदै पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्नुभएको हो ।

प्रतिनिधि सभाको नियमावलीअनुसार सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । रक्षा र गृह मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री आफैँले सम्हालिरहेको अवस्थामा देशको सीमा सुरक्षा, लिपुलेक र सुकुम्बासी समस्या जस्ता संवेदनशील विषयमा सोधिएका प्रश्नको बेवास्ता गरेर प्रधानमन्त्रीले संसदको गरिमामाथि नै धावा बोलेको राईको तर्क थियो ।

१० दिन बित्दा पनि आएन जवाफ

बैठकमा बोल्दै अध्यक्ष राईले आफूले गत वैशाख २८ र २९ गते गृह, रक्षा लगायतका मन्त्रालयसँग सम्बन्धित विभिन्न प्रश्नहरू सदनमा दर्ता गराएको स्मरण गराउनुभयो ।

“हाम्रो नियमावलीको नियम १५ (२) अनुसार सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री सदनमा आएर सांसदहरूले उठाएका प्रश्नको उत्तर दिनुपर्ने हो कि होइन? मैले प्रश्न राखेको आज १० दिन भइसक्यो । प्रधानमन्त्रीज्यूले अहिले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छैन र गृह तथा रक्षा मन्त्रालयको जिम्मेवारी उहाँकै काँधमा छ । त्यसैले सुकुम्बासी, शान्तिसुरक्षा र लिपुलेक जस्ता सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री आफैँ आएर जवाफ दिनुपर्छ ।”

— हर्कराज राई, अध्यक्ष, श्रम संस्कृति पार्टी

“प्रधानमन्त्री कोप्रति जवाफदेही हुनुहुन्छ ? शंका गर्ने ठाउँ छ”

सांसद राईले प्रधानमन्त्री साहको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै उहाँ यो देशको पार्लियामेन्टको मेम्बर हो कि होइन भनी प्रश्न गर्नुभयो । “हामी सबैले लोकतन्त्र र यो संसदको गरिमालाई जोगाउनु पर्छ, आफ्नो कर्तव्य पूरा गर्नुपर्छ,” उहाँले भन्नुभयो, “यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ ।”

नेपाली जनता र लोकतान्त्रिक पद्धतिबाट स्थापित संसदप्रति प्रधानमन्त्री जवाफदेही नहुनुले धेरै शंकाहरू उब्जाएको राईले बताउनुभयो । उहाँले थप्नुभयो, “संसदप्रति जवाफदेही हुनुहुन्न भने उहाँ कोप्रति जवाफदेही हुनुहुन्छ? यहाँ शंका गर्ने ठाउँ छ । कोही न कोही प्रति त उहाँ जवाफदेही हुनैपर्छ नि ।”

बैठकमा अध्यक्ष राईले प्रधानमन्त्री साहलाई संसदमा उठेका प्रश्नहरूको सामना गर्न र संसद्को नियम पालना गर्न पटक-पटक चुनौती समेत दिनुभएको थियो ।