
काठमाडौं, ७ जेठ । अर्थ सचिव घनश्याम उपाध्यायले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रको लगानी आकर्षित गर्ने ‘उत्प्रेरक’ भूमिकामा केन्द्रित भएर आउने बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै उहाँले सरकारले मात्र खर्च गरेर उत्पादनशीलता वृद्धि सम्भव नहुने स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार सरकारको प्रत्येक एकाइ खर्चले निजी लगानीलाई ‘क्राउड इन’ गर्दै उत्पादन र रोजगारी सिर्जनामा योगदान पुर्याउनुपर्छ । विगतमा सिमेन्ट उद्योगसम्म पहुँच मार्ग र विद्युत् प्रसारण लाइन पुर्याउने सरकारी नीतिकै कारण नेपाल सिमेन्ट र विद्युत्मा आत्मनिर्भर बन्न सफल भएको उदाहरण दिँदै उहाँले यस्ता सहजीकरणकारी नीति अन्य क्षेत्रमा पनि विस्तार गर्नेगरी बजेटको काम भइरहेको जानकारी दिनुभयो ।
‘आउट अफ गभर्मेन्ट ब्यालेन्स सिट’ बाट विकास आयोजना
अर्थसचिव उपाध्यायले अब ‘आउट अफ गभर्मेन्ट ब्यालेन्स सिट’ स्रोतबाट पनि विकास आयोजना अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । यसका लागि सरकारले वैकल्पिक वित्तीय व्यवस्थापनसम्बन्धी विधेयक संसदमा दर्ता गरिसकेको र उक्त विधेयक छिट्टै पारित भए आगामी आर्थिक वर्षको बजेटमै निजी क्षेत्रको लगानीबाट निर्माण हुने सार्वजनिक पूर्वाधार आयोजनाहरू समेटेर छुट्टै अनुसूची राख्न सकिने उहाँको भनाइ छ ।
सरकार आफैं व्यवसाय सञ्चालन गर्नुभन्दा निजी व्यवसाय प्रवर्द्धन र नियमनमा केन्द्रित रहने उहाँले प्रष्ट पार्नुभयो । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.५ देखि ४ प्रतिशत (करिब ३.८ प्रतिशत) बीच रहने प्रक्षेपण गर्दै उहाँले आगामी वर्ष नेपालको नोमिनल जीडीपी ७३ देखि ७४ खर्ब रुपैयाँ पुग्न सक्ने अनुमान प्रस्तुत गर्नुभयो ।
सार्वजनिक ऋणको विषयमा बजारमा अनावश्यक भ्रम
बैठकमा अर्थसचिव उपाध्यायले नेपालको ऋणको विषयलाई लिएर बजारमा अनावश्यक भ्रम फैलाइएको भन्दै खण्डन गर्नुभयो । नेपालको कुल सार्वजनिक ऋण अहिले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ४३ प्रतिशत मात्र रहेकाले नेपाल अझै सुरक्षित अवस्थामा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
“कुल ऋणको आधा हिस्सा आन्तरिक ऋण हो, जसको ८० प्रतिशतभन्दा बढी पुरानै ऋणको सावाँ–ब्याज भुक्तानी (रि–पेमेन्ट) मै खर्च हुन्छ । त्यसैले यसलाई नयाँ वास्तविक ऋणका रूपमा हेर्न हुँदैन । वैदेशिक ऋण भने २५ देखि ३० वर्षजस्तो लामो अवधिको, सहुलियतपूर्ण र परियोजनामुखी (प्रोजेक्ट बेस) मात्र छ, जसले वित्तीय स्रोतसँगै प्रविधि हस्तान्तरणमा समेत योगदान पुर्याइरहेको छ ।”
— घनश्याम उपाध्याय, अर्थसचिव
नागढुंगा सुरुङमार्गको उदाहरण दिँदै उहाँले त्यहाँ प्रयोग हुने टिबिएम (TBM) मेसिन र प्रविधि सञ्चालनमा नेपाली प्राविधिकले सीप आर्जन गरिरहेको र आगामी दिनमा नेपालले आफ्नै जनशक्ति तथा लगानीमा यस्ता परियोजना विस्तार गर्न सक्ने बहुआयामिक प्रभाव पर्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय तुलना र आन्तरिक सुधार
भूकम्पअघि नेपालको सार्वजनिक ऋण जीडीपीको करिब २२–२५ प्रतिशत रहेकामा पुनर्निर्माण अवधिमा बढेर अहिले ४३–४५ प्रतिशत पुगेको उहाँले जानकारी दिनुभयो । यद्यपि, अल्पविकसित मुलुकहरूको औसत ऋण जीडीपीको ६४ प्रतिशत रहेको र जापान तथा अमेरिकाजस्ता विकसित राष्ट्रहरूको ऋण १०० प्रतिशतभन्दा माथि रहेको उदाहरण दिँदै उहाँले नेपालको ऋण नियन्त्रणभित्रै रहे पनि यसलाई उत्पादनमूलक क्षेत्रमा योजनाबद्ध रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
चालु खर्च नियन्त्रणका लागि सरकारले मन्त्रालयको संख्या घटाउने, अनावश्यक संरचना खारेज गर्ने र दरबन्दी कटौती गर्ने गृहकार्य गरिरहेको उहाँले अर्थसमितिलाई जानकारी दिनुभयो । साथै, सस्तो लोकप्रियताका लागि जथाभाबी योजना थप्ने प्रवृत्तिको अन्त्य गर्न सरकार दृढताका साथ लागिपरेको उहाँको भनाइ थियो ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




