प्रधानमन्त्री देशको कि छुट्टै टापुको सम्राट ?-

- संसदप्रति उदासिन भएको भन्दै अर्जुननरसिंह केसीको आक्रोश

-



     सफल आवाज    
     जेठ ७ गते २०८३ मा प्रकाशित



काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साह संसदको अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गर्नुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेता केसीले प्रधानमन्त्रीको कार्यशैली र संसदप्रतिको उदासिनतामाथि गम्भीर प्रश्न उठाउनुभएको हो ।

बैठकमा बोल्दै सांसद केसीले “प्रधानमन्त्री संसदको अंग हो कि होइन ?” भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो । उहाँले प्रधानमन्त्री साह मुलुकको प्रणालीभित्र भन्दा पनि कुनै छुट्टै टापुको सम्राटजस्तो देखिएको जिकीर गर्नुभयो ।

गृहमन्त्रीकै जिम्मेवारीमा रहेका प्रधानमन्त्री संसदमा नआएकोमा आपत्ति

देशमा मनसुन र विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बेला गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री साह संसदमा उपस्थित नभएको भन्दै नेता केसीले कडा आपत्ति जनाउनुभयो ।

“सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ । विपद्को विषय गृह मन्त्रालयले गम्भीरतापूर्वक लिने विषय हो । अब उहाँ नै गृहमन्त्री हुनुहुन्छ तर उहाँ स्वयं आफू यो संसदको अंग हो कि होइन? सभामुखजी, मैले चाहिँ थाहा पाएको छैन है । उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको पनि अभिन्न अंग हो? त्यतातिर पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।” — अर्जुननरसिंह केसी, सांसद (नेपाली कांग्रेस)

बेथिति अन्त्यका लागि कार्यगत योजनाको माग

सांसद केसीले विपद् व्यवस्थापन जस्तो संवेदनशील र गम्भीर विषयमा सरकारले गहिरोसँग ध्यान दिनुपर्ने स्पष्ट पार्नुभयो । विगतका गल्ती र बेथितिहरू दोहोर्‍याएर मात्रै थिति बस्न नसक्ने उहाँको तर्क थियो ।

“हरेक बेथितिबाट थिति बसाल्ने एउटा निश्चित अवधारणासहितको कार्यगत योजनाबाट मात्रै हामी नयाँ कुराको निर्माण गर्न सक्छौँ,” केसीले भन्नुभयो । उहाँले मनसुनजन्य प्राकृतिक विपत्तिको जोखिम कम गर्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारलाई तत्कालै ठोस योजनाका साथ अघि बढ्न आग्रह समेत गर्नुभयो ।