घरजग्गा कारोबार-१० महिनामा ४३ अर्ब बढी राजस्व: वैशाखमा बन्यो चालु आवकै नयाँ रेकर्ड

-



     सफल आवाज    
     जेठ १० गते २०८३ मा प्रकाशित



काठमाडौं, १० जेठ । सुस्त देखिएको घरजग्गा बजारमा महँगा सम्पत्तिको खरिदबिक्री बढेसँगै सरकारी राजस्व संकलनमा नयाँ उत्साह देखिएको छ। चालु आर्थिक वर्षको १० महिनाको अवधिमा घरजग्गा कारोबारबाट सरकारी ढुकुटीमा कुल ४३ अर्ब ५४ करोड रुपैयाँ राजस्व दाखिला भएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार गत वैशाख महिनामा मात्रै ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ राजस्व संकलन भएको छ। यो संकलन चालु आर्थिक वर्षको साउनयताकै सबैभन्दा उच्च मासिक संकलन (रेकर्ड) हो। यसअघि चैत महिनामा ६ अर्ब १६ करोड रुपैयाँ राजस्व उठेको थियो।

कारोबार घटे पनि राजस्व बढ्नुको कारण

विभागका अनुसार समग्र कारोबार संख्यामा केही गिरावट आए पनि ठुला र महँगा जग्गाको किनबेचमा वृद्धि भएका कारण राजस्वको ग्राफ उकालो लागेको हो।

  • समग्र कारोबार: चैतमा १ लाख ७६ हजार ७ सय ७१ पटक कारोबार भएकोमा वैशाखमा यो संख्या घटेर १ लाख ६९ हजार ५ सय ३८ मा सीमित भयो।
  • लिखत पारित: समग्र कारोबार घटे पनि नयाँ घरजग्गा खरिदबिक्रीको लिखत पारित संख्या भने बढेको छ। चैतमा ५५ हजार ५ सय ३१ लिखत पारित भएकोमा वैशाखमा बढेर ५८ हजार ८ सय ८६ पुगेको छ।

उपत्यकाका मालपोत कार्यालयहरू अग्रपंक्तिमा

वैशाख महिनामा सबैभन्दा धेरै राजस्व संकलन गर्नेमा काठमाडौँ उपत्यकाका मालपोत कार्यालयहरू अगाडि देखिएका छन्।

कार्यालयको नामसंकलित राजस्व (वैशाख महिना)
डिल्लीबजार, काठमाडौँ (पहिलो)५९ करोड ९१ लाख २५ हजार ८९४ रु.
लगनखेल, ललितपुर५२ करोड ९६ लाख ७७ हजार १९२ रु.
भक्तपुर४७ करोड १४ लाख १९ हजार ४५१ रु.
चाबहिल, काठमाडौँ४२ करोड ६५ लाख १० हजार १११ रु.
कलंकी, काठमाडौँ४१ करोड ९९ लाख ३२ हजार ८२ रु.
कास्की (उपत्यकाबाहिर पहिलो)२६ करोड २६ लाख ५५ हजार ४७३ रु.
चितवन२१ करोड १ लाख २० हजार ८६४ रु.

वैशाखमा संकलित कुल ६ अर्ब २६ करोडमध्ये रजिस्ट्रेसन दस्तुरबाट ३ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ र पूँजीगत लाभकरबाट २ अर्ब ५५ करोड २४ लाख रुपैयाँ उठेको छ। यसबाहेक सेवा करबाट ३४ करोड ४० लाख र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट ४ करोड ४८ लाख रुपैयाँ संकलन भएको छ।

नीतिगत व्यवस्था र वर्गीकरणको सुस्तता

सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन महानगरपालिका र उपमहानगरपालिकाभित्र ३ करोड रुपैयाँभन्दा माथिको थैली अङ्क भएको कारोबार अनिवार्य रूपमा इजाजतपत्र प्राप्त कम्पनीमार्फत मात्र गर्नुपर्ने व्यवस्था लागू गरेको छ। तर, व्यवसायीहरूले भने यो सीमाले साना लगानीकर्ता मारमा पर्ने गुनासो गरिरहेका छन्।

अर्कोतर्फ, घरजग्गा कारोबारको मुख्य बाधकका रूपमा भू-उपयोग नियमावलीअनुसारको जग्गा वर्गीकरण देखिएको छ।

देशभरका ७ सय ५३ पालिकाहरूमध्ये हालसम्म केवल ४४.८९ प्रतिशत (३३८ पालिका) ले मात्रै पूर्ण रूपमा जग्गा वर्गीकरण गरेका छन्। वर्गीकरण नहुँदा कित्ताकाट रोकिने र कारोबार सुस्त हुने समस्या अझै कायम छ भने ४७ वटा पालिकाले हालसम्म वर्गीकरणको प्रक्रिया नै सुरु गरेका छैनन्।

स्थानीय तहबाटै जग्गा प्रशासन सेवाको गृहकार्य

घरजग्गाको बढ्दो चाप र नागरिकको सहजताका लागि सरकारले जग्गा प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने गृहकार्यलाई तीव्रता दिएको छ। पहिलो चरणमा ३५ वटा स्थानीय तह छनौट गरी त्यहाँ ‘नेलिस’ (NeLIS) प्रणाली जडान गर्ने र आवश्यक जनशक्ति (अधिकृत, सर्वेक्षक, अमिन, सहायक) व्यवस्थापन गर्ने मन्त्रालयको योजना छ। यसले आगामी दिनमा मालपोत कार्यालयहरूको भीड कम गर्ने र राजस्व संकलनको प्रक्रियालाई अझै विकेन्द्रीकृत र पारदर्शी बनाउने विश्वास गरिएको छ।