‘न्युयोर्कको क्याफेमा बसेर पाटन दरबारको भ्रमण गर्न सकिन्छ’-पर्यटन मन्त्री पौडेल

-



     सफल आवाज    
     जेठ १२ गते २०८३ मा प्रकाशित



काठमाडौं, १२ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले पर्यटन सम्बन्धी विधेयकलाई अझ बढी व्यवस्थित, व्यापक र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिनुभएको छ।

उहाँले अबकाे पर्यटन न्युयोर्कको क्याफेमा बसेर पाटन दरबार संग्रहालयको भर्चुअल भ्रमण गर्न सकिने र ‘पेमेन्ट गेटवे’ मार्फत भुक्तानी गर्न सकिने व्यवस्थातर्फ संकेत गर्नुभयाे ।

संसद्मा जारी छलफलमा भाग लिँदै मन्त्री पौडेलले यस विधेयकका विभिन्न पक्ष र विद्यमान कमजोरीहरू (लुपहोल्स) लाई सच्याएर अघि बढ्नुपर्ने बताउनुभयो।

मन्त्री पौडेलले पर्यटन उद्योगलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा व्याख्या गर्दै यस क्षेत्रको व्यवस्थापकीय क्षमतालाई कानुनद्वारा निर्देशित र नियमन गरिनुपर्ने उल्लेख गर्नुभयो।

“पर्यटकीय गतिविधिको लाभका धेरै पाटाहरू छन्, तसर्थ हाम्रा आर्थिक र सामाजिक समस्याहरूको समाधानमा पर्यटन उद्योगले कस्तो भूमिका खेल्न सक्छ भन्ने आधारमा हामीले नीति र कानुनहरू बनाउनुपर्छ,” उहाँले भन्नुभयो।

भुटानको मोडेल र ब्रेन ड्रेनको चुनौती

छलफलका क्रममा अन्य सांसदहरूले उठाएको भुटानको पर्यटन मोडेलको प्रसंगलाई जोड्दै मन्त्री पौडेलले भुटान अहिले ‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) को ठूलो चपेटामा परेको तर्फ ध्यानाकर्षण गराउनुभयो। नेपालले आफ्ना विशिष्ट आवश्यकता र समस्याहरू पहिचान गरेर मात्र नीति नियम तय गर्नुपर्ने उहाँको भनाइ थियो।

प्रकृति र संस्कृतिमा आधारित पर्यटन

नेपालको पर्यटनलाई यहाँको कृषि, हिमाल र संस्कृतिसँग जोडेर हेर्नुपर्नेमा मन्त्री पौडेलले विशेष जोड दिनुभयो। पूर्वदेखि पश्चिमसम्मका विभिन्न जनजातिहरूको संस्कार, परम्परा, गीत, संगीत, नृत्य र खानपानलाई भूगोलले निर्देशित गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो: “हिमाल संस्कृति भनेको मानिसले प्रकृतिसँग गरेको अनवरत संवादको श्रृंखला हो। संस्कृति सधैँ परिवर्तनशील हुन्छ, तर प्रकृतिसँगको हजारौँ वर्षको संवादका आधारमा यो विकसित भएको हुन्छ।”

भौगोलिक जटिलताका कारण हिमाली क्षेत्रका नृत्यहरू समूहमा बाँधिएर बिस्तारै नाचिने र पहाड तथा मधेसमा ओर्लँदा भौगोलिक अनुकूलता अनुसार नृत्यको स्वरूप, ताल र चाल परिवर्तन हुने रोचक उदाहरण समेत उहाँले प्रस्तुत गर्नुभयो। पर्यटनमा केवल ‘के छ’ भन्ने मात्र नभई त्यसलाई ‘कसरी बताइन्छ’ भन्ने कथा (न्यारेटिभ) मा आधारित हुने उहाँको तर्क थियो।

प्रविधिको प्रयोग र भर्चुअल पर्यटन

बदलिँदो समयसँगै पर्यटन क्षेत्रमा प्रविधिको महत्व बढेको उल्लेख गर्दै मन्त्री पौडेलले अब घरमै बसेर संसार घुम्न मिल्ने र ‘भर्चुअल’ माध्यमबाट पर्यटन शुल्क तिर्ने डिजिटल युग आइसकेको बताउनुभयो।

२०८१ सालमा दर्ता भई संसदीय प्रक्रियामा रहेको यस विधेयकमाथि समितिमा पुगेर अझ व्यापक र दफावार छलफल हुने र यसले ठोस रूप लिने विश्वास मन्त्री पौडेलले व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा हुने छलफलहरूमा आफू सक्रियतापूर्वक सहभागी भई आफ्ना राय र सुझावहरू राख्ने प्रतिबद्धता समेत जनाउनुभएको छ।