
काठमाडौं, १३ जेठ। मुलुकको आर्थिक सुस्तताका बीच जीवन बीमा कम्पनीहरूको व्यवसायमा भने उत्साहजनक सुधार देखिएको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब ५६ अर्ब १७ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा व्यवसाय १२.०६ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको वैशाख मसान्तसम्म कम्पनीहरूले १ खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।
नेपाल लाइफको बर्चस्व कायम, नेशनल लाइफ दोस्रो
कुल बीमा शुल्क आर्जनको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स बजारमा अग्रस्थानमा देखिएका छन्। विगतमा जस्तै नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बर्चस्व कायम राख्दै सबैभन्दा बढी ४१ अर्ब १६ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। यो व्यवसाय गत वर्षको तुलनामा १२.५१ प्रतिशतको वृद्धि हो।
त्यस्तै, दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले गत आवको तुलनामा १०.६१ प्रतिशतले व्यवसाय बढाएर १९ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ भने एलआइसी नेपाल ८.१४ प्रतिशतको वृद्धिसहित १६ अर्ब ८४ करोड २८ लाख रुपैयाँ आर्जन गर्दै तेस्रो स्थानमा छ।
व्यवसाय वृद्धिको दौडमा आइएमई लाइफ अगाडि
प्रतिशतका आधारमा व्यवसाय बढाउने दौडमा भने नयाँ जीवन बीमा कम्पनीहरू आक्रामक देखिएका छन्। तथ्यांक अनुसार आइएमई लाइफ इन्स्योरेन्सको व्यवसाय सर्वाधिक ३१.३० प्रतिशतले बढेर ५ अर्ब ५० करोड २६ लाख रुपैयाँ पुगेको छ। व्यवसाय वृद्धिका आधारमा आइएमई लाइफसँगै सिटिजन लाइफ र रिलायबल नेपाल लाइफ अगाडि रहेका छन्।
कम्पनीहरूको वैशाख मसान्तसम्मको व्यवसायिक अवस्था:
| क्र.सं. | जीवन बीमा कम्पनी | संकलित कुल बीमा शुल्क | वृद्धिदर (%) |
| १ | नेपाल लाइफ इन्स्योरेन्स | ४१ अर्ब १६ करोड ६६ लाख रु. | १२.५१% |
| २ | नेशनल लाइफ इन्स्योरेन्स | १९ अर्ब ०२ करोड रु. | १०.६१% |
| ३ | एलआइसी नेपाल | १६ अर्ब ८४ करोड २८ लाख रु. | ८.१४% |
| ४ | हिमालयन लाइफ इन्स्योरेन्स | १४ अर्ब ५५ करोड ५२ लाख रु. | ५.५२% |
| ५ | राष्ट्रिय जीवन बीमा कम्पनी | १० अर्ब ०९ करोड रु. | १६.४३% |
| ६ | सूर्यज्योति लाइफ इन्स्योरेन्स | ९ अर्ब ५० करोड ९० लाख रु. | ११.४७% |
| ७ | एशियन लाइफ इन्स्योरेन्स | ८ अर्ब ०१ करोड ५२ लाख रु. | १२.२५% |
| ८ | सिटिजन्स लाइफ इन्स्योरेन्स | ६ अर्ब ७८ करोड रु. | १९.४९% |
| ९ | सानिमा रिलायन्स लाइफ | ५ अर्ब ९८ करोड रु. | १२.००% |
| १० | आइएमई लाइफ इन्स्योरेन्स | ५ अर्ब ५० करोड २६ लाख रु. | ३१.३०% |
| ११ | मेट लाइफ इन्स्योरेन्स | ५ अर्ब ४९ करोड रु. | १०.२८% |
| १२ | रिलायबल नेपाल लाइफ | ४ अर्ब ९४ करोड रु. | १९.१३% |
| १३ | प्रभु महालक्ष्मी लाइफ | ४ अर्ब ७० करोड रु. | १४.५९% |
| १४ | सन नेपाल लाइफ इन्स्योरेन्स | ३ अर्ब ५५ करोड रु. | ३.८८% |
प्राधिकरणको यो तथ्यांकले बजारमा आर्थिक शिथिलता भए पनि आम नागरिकमा बीमाप्रतिको आकर्षण र विश्वास बढ्दै गएको संकेत गरेको छ। विशेषगरी सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले पनि १६.४३ प्रतिशतको बलियो वृद्धि हासिल गर्दै १० अर्बको आँकडा पार गर्न सफल भएको छ।फाेटाे-एआइबाट सिर्जित








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




