
काठमाडौं, १३ जेठ। राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लङ्घनका घटनाबारे आफ्नो अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि आज नेपाल सरकारलाई पत्राचार गरेको छ ।
बुधबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा भाद्र २३ गतेको ‘जेनजी आन्दोलन’ र त्यसक्रममा नख्खु जेल तोडफोड लगायतका घटनालाई लिएर गम्भीर सिफारिस र निर्देशनहरू गरिएको छ।
आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली (केपी ओली), तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘मानव अधिकार उल्लङ्घन गरेको पुष्टि भएको’ उल्लेख छ।
तर, उनीहरूलाई सजाय गर्ने स्पष्ट व्यवस्था प्रचलित कानुनमा नरहेको औँल्याउँदै आयोगले नयाँ ‘पाश्चात्यदर्शी कानुन’ बनाएर सजाय गर्न सरकारलाई सिफारिस गरेको छ।
यसैगरी, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र आन्दोलन छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलगायतले प्रदर्शनपूर्व, प्रदर्शनका दौरान र प्रदर्शनपश्चात् दिएका अभिव्यक्तिहरूबारे सूक्ष्म अनुसन्धान गर्न पनि सरकारलाई निर्देशन दिइएको छ। सुशीला कार्कीलाई अभियन्ता र आह्वानकर्ताको रूपमा थप अनुसन्धान गर्न भनिएको छ।
रवि लामिछाने र रास्वपाका १५ सांसदसहित आन्दोलनकारीलाई कारबाहीको सिफारिस
सहकारी ठगी प्रकरणमा नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गत भदौ २३ गते उनका समर्थकहरूको भिडले जेलबाट निकालेको र त्यसलगत्तै देशैभरका जेलहरूमा आक्रमण भई गम्भीर अपराधका दोषीहरू समेत फरार भएको प्रतिवेदनमा उल्लेख छ।
उक्त आन्दोलन र घटनाहरूमा संलग्न रहेको भन्दै आयोगले निवर्तमान गृहमन्त्री सुधन गुरुङ (अध्यक्ष, हामी नेपाल) र रास्वपाका १५ जना सांसदसहित कैयौँ अभियन्ताहरूलाई कारबाहीका लागि सिफारिस गरेको छ।
कारबाही सिफारिस गरिएका प्रमुख व्यक्तिहरू:
- रास्वपा नेता तथा सांसदहरू: रवि लामिछाने, डा. तोषिमा कार्की, मनिष झा, हरि ढकाल, गणेश कार्की, दीपक बोहोरा, केपी खनाल, बब्लु गुप्ता, राजिब खत्री, सुलभ खरेल, पुरुषोत्तम यादव।
- अभियन्ता तथा सेलिब्रेटीहरू: निश्चल बस्नेत (कलाकार), सिसन बानियाँ (इन्फ्लुएन्सर), भाग्य न्यौपाने (इन्फ्लुएन्सर), रवि किरण हमाल, भिक्टर पौडेल, ज्वाला संग्रौला, आशिका तामाङ, पुण्य गौतम, निशान मैनाली।
- अन्य विशिष्ट व्यक्तिहरू: दुर्गा प्रसाईं (व्यवसायी), हिमानी राज्य लक्ष्मी सिंह (अभियन्ता), र भिम उपाध्याय (पूर्व सचिव)।
आईजीपीद्वय कार्की र पौडेलसहित उच्च सुरक्षा अधिकारीहरू दोषी ठहर
आयोगले भदौ २३ गते बानेश्वर र संसद् भवन क्षेत्रको फिल्डमा खटिएका सुरक्षाकर्मी र तिनका कमाण्डरहरूका साथै सुरक्षा निकायका तत्कालीन उच्च नेतृत्वलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको छ।
मानव अधिकार उल्लङ्घनमा जिम्मेवार ठहरिएका उच्च अधिकारीहरूमा नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका वर्तमान प्रमुख (आईजीपी) नारायण प्रसाद पौडेल समेत रहेका छन्। घटनाका बखत कार्की नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) र पौडेल सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक पदमा कार्यरत थिए।
विभागीय कारबाही सिफारिस गरिएका अन्य अधिकारीहरू:
- छविलाल रिजाल (तत्कालीन प्रमुख जिल्ला अधिकारी, काठमाडौँ)
- ओम विक्रम राणा (तत्कालीन प्रहरी नायब महानिरीक्षक – डीआईजी)
- विश्व अधिकारी (तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक – एसएसपी)
- जीवन केसी (तत्कालीन सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक – एसएसपी)
- कृष्ण खनाल (तत्कालीन निर्देशक, राष्ट्रिय अनुसन्धान विभाग)
दोषी ठहरिएकाहरूलाई तत्काल ६ महिना निलम्बन गर्न निर्देशन
राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ को दफा ४ (१) (छ) बमोजिम आयोगले मानव अधिकार उल्लङ्घनकर्ता भनी तोकिएका व्यक्तिहरू हाल जहाँ र जुनसुकै सार्वजनिक पदमा बहाल रहेको भएता पनि कम्तीमा ६ महिना निलम्बन गर्न सरकारलाई निर्देशनात्मक सिफारिस गरेको छ। मानव अधिकारको सम्मान तथा संरक्षण सुनिश्चित गर्नका लागि यो कदम चाल्न अनिवार्य रहेको आयोगको भनाइ छ।
प्रतिवेदनकाे पूर्णपाठ








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




