
काठमाडौं, १४ जेठ। नागरिक लगानी कोष (CIT) र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन गर्ने सम्बन्धी एक सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा नागरिक लगानी कोषका तर्फबाट निर्देशक छबिरमण अधिकारी र नबिल बैंकका तर्फबाट मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताका मुख्य बुँदाहरू:
- कोष व्यवस्थापन: सम्झौता अनुसार बैंकका कर्मचारीहरूको योगदानमा आधारित वा गैर-योगदानमा आधारित उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन नागरिक लगानी कोषले गर्नेछ ।
- रकम जम्मा र अभिलेख: बैंकका कर्मचारीहरूले मासिक वा वार्षिक रूपमा कट्टी हुने रकम नियमित रूपमा कोषमा जम्मा गर्नुपर्ने छ । उक्त रकमको व्यवस्थापनका लागि कोषले कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी चुस्त अभिलेख राख्नेछ ।
- ब्याज र प्रतिफल: कर्मचारीहरूले कोषमा जम्मा गरेको रकममा नागरिक लगानी कोषको ऐन, नियम, विनियम, निर्देशिका तथा कार्यविधि बमोजिम आकर्षक ब्याज, प्रतिफल र अन्य सेवा-सुविधाहरू प्राप्त गर्नेछन् ।
- अवकाश भुक्तानी: सेवा निवृत्त भएका कर्मचारीहरूलाई बैंकको सिफारिसका आधारमा कोषले नियमानुसार कर कट्टा गरी अवकाश रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने छ ।
बैंक र कोषको जिम्मेवारी:
सम्झौता बमोजिम नबिल बैंकले आफ्ना कर्मचारीहरूको विवरण कोषलाई उपलब्ध गराउनुपर्ने छ । साथै, बैंकको अवकाश कोष योजनाको व्यक्तिगत खातामा रहेको रकम, ऋण तथा लगानी सहितको विस्तृत विवरण पनि कोषलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ । बैंकले कर्मचारीहरूको मासिक तथा वार्षिक कट्टी रकम नियमित रूपमा कोषमा जम्मा गरी सेवा निवृत्त कर्मचारीहरूको भुक्तानीका लागि सिफारिस गर्नुपर्ने छ ।
यसैगरी, आयकर ऐन २०५८ बमोजिम स्वीकृत अवकाश कोषका रूपमा सञ्चालित साविकका अवकाश कोषहरूमा रहेको नबिल बैंकका कर्मचारीहरूको अवकाश, उपदान र अतिरिक्त अवकाश कोषको रकम अब नागरिक लगानी कोषमा रकमान्तरण (ट्रान्सफर) गरिने समेत सम्झौतामा उल्लेख छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




