शुक्रबार आव २०८३/८४ को बजेट सार्वजनिक हुँदै

-



     सफल आवाज    
     जेठ १४ गते २०८३ मा प्रकाशित



काठमाडौं, १४ जेठ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट भोलि (शुक्रबार) सार्वजनिक गर्ने भएको छ ।

संवैधानिक व्यवस्था अनुसार हरेक वर्ष जेठ १५ गते (गणतन्त्र दिवस) का दिन बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरूप सरकारले भोलि अपराह्न ४:०० बजे संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न लागेको हो ।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालका अनुसार भोलि बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्य प्रस्तुत गर्नेछन् ।

सभामुख अर्यालले बजेट भाषणका लागि सम्पूर्ण संघीय सांसदहरूलाई भोलि दिउँसो ३:४५ बजेभित्रै संसद् भवनमा उपस्थित भई आसन ग्रहण गरिसक्न निर्देशनसमेत दिएका छन् ।

निजी क्षेत्रको मनोबल बढाउने र आर्थिक सुधारमा केन्द्रित हुने अपेक्षा

यस पटकको बजेट मुख्य गरी निजी क्षेत्रमैत्री लगानी वातावरण सिर्जना गर्ने, उत्पादन वृद्धि गर्ने र रोजगारीका अवसरहरू बढाउने दिशामा केन्द्रित हुने अनुमान गरिएको छ ।

अर्थमन्त्री डा. वाग्लेले यसअघि नै संसद्मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आगामी बजेटलाई आर्थिक सुधारको नयाँ चरण र रूपान्तरणकारी सुरुवातको रूपमा अघि बढाउने घोषणा गरिसकेका छन् ।

१८ खर्ब ९० अर्बको बजेट सिलिङ

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि करिब १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) तोकेको थियो । बजारमा शिथिल बनेको निजी क्षेत्रको मनोबल उच्च बनाउन करका दरहरूमा लचकता, सरकारी प्रक्रियाको सरलीकरण र पूर्वाधार विकासमा निजी क्षेत्रको साझेदारीलाई यस बजेटले विशेष प्राथमिकता दिने अपेक्षा गरिएको छ ।