आम्दानीभन्दा बढी खर्च, नेपाल वायु सेवा निगम खर्बको दायित्वमा थलिँदै

-



     सफल आवाज    
     जेठ १५ गते २०८३ मा प्रकाशित



काठमाडौं, १५ जेठ १५ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको आर्थिक अवस्था फेरि एकपटक चिन्ताजनक मोडमा पुगेको छ। ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा रिपोर्ट २०८३’ अनुसार, निगमले आर्थिक वर्ष २०८१-८२ मा आफ्नो आम्दानीभन्दा १ अर्ब २३ करोड ३८ लाख रुपैयाँ बढी खर्च गरेको छ।

रिपोर्टका अनुसार, उक्त आर्थिक वर्षमा निगमको कुल सञ्चालन आय २० अर्ब ६० करोड ६९ लाख रुपैयाँ थियो। तर, निगमले २१ अर्ब ८३ करोड रुपैयाँ सञ्चालन खर्च गरेको छ। यो असन्तुलनले निगमको सञ्चालन घाटा ६.३६ प्रतिशतले बढाएर १८ अर्ब ९० करोड ९८ लाख रुपैयाँ पुर्‍याएको छ। यो अवस्था ‘चार आनाको मुर्गी ८ आनाको मसला’ भनेझैं भएको छ, जहाँ आम्दानीभन्दा खर्चको बोझ निकै ठूलो छ।

नेपाल सरकारको शतप्रतिशत लगानी रहेको यो सार्वजनिक संस्थान, सेवा क्षेत्रका अन्य संस्थानहरू नाफामा गइरहँदा पनि चरम घाटामा फसेको छ। विशेष ऐनद्वारा स्थापित निगममा सरकारको ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ सेयर लगानी छ, जसमा ७9 करोड ३४ लाख रुपैयाँ ब्याजसमेत निगमले तिर्न सकेको छैन।

कर्जा र दायित्वको विशाल चाङ

निगमको दीर्घकालीन ऋण दायित्व ३४ अर्ब १२ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने अल्पकालीन ऋण दायित्व ३ अर्ब ६० करोड रुपैयाँ छ। अन्य दायित्व २४ अर्ब ९५ करोड रुपैयाँ रहेको रिपोर्टमा उल्लेख छ। यसबाहेक, बैंक तथा वित्तीय संस्थाहरूलाई बुझाउनुपर्ने भाखा नाघेको साँवा मात्रै ४६ अर्ब ८४ करोड ४२ लाख रुपैयाँ पुगिसकेको छ।

कर्मचारी अवकास कोषको अवस्था पनि दयनीय छ। कोषमा २ अर्ब ९४ करोड ६७ लाख रुपैयाँ मात्र दाखिला गरिएको छ, जबकि व्यवस्था गर्नुपर्ने रकम ३ अर्ब ४१ करोड ८७ लाख रुपैयाँ हो।

समग्रमा, सञ्चालन घाटा, सरकारलाई तिर्नुपर्ने साँवा-ब्याज, बैंकहरूको भाखा नाघेको रकम र कर्मचारीको अवकास कोषको दायित्व गरी निगमको कुल दायित्व खर्बको हाराहारीमा पुगेको छ।

कर्मचारीको भार

एकातिर निगम आर्थिक रूपमा जर्जर छ भने अर्कोतिर कर्मचारीको भार पनि उत्तिकै छ। निगममा हाल ८२६ जना स्थायी कर्मचारी र सेवा करारमा ३७9 जना गरी कुल १४ सय ६० कर्मचारी कार्यरत छन्, जसको तलब भत्तामा मात्रै वार्षिक १ अर्ब ३८ करोड रुपैयाँ खर्च हुने गरेको छ।

३२ अर्ब २१ करोड ६० लाख स्थिर पुँजी र १५ अर्ब १७ करोड ५२ लाख चालु सम्पत्ति भएको निगमको बैंक मौज्दात ३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ मात्र छ, जसले निगमको तत्कालको तरलता संकटलाई पनि झल्काउँछ। प्रशासनिक र कार्यालय सञ्चालन खर्चमा केही कटौती गरिए पनि कर्मचारीको तलब भत्तामा भएको वृद्धि र विशाल वित्तीय दायित्वले निगमलाई थप संकटमा धकेलेको छ।