देशभर ३२ हजार बढी सहकारी, बचत १० खर्ब २९ अर्ब नाघ्यो (आर्थिक सर्वेक्षण)

-



     सफल आवाज    
     जेठ १५ गते २०८३ मा प्रकाशित



काठमाडौं, १५ जेठ । नेपालमा सहकारी संस्थाहरूको सङ्ख्या ३२ हजार ३२५ पुगेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/२०८३ को आर्थिक सर्वेक्षण अनुसार गत फागुन मसान्तसम्म देशभर दर्ता भएका सहकारीहरूको सङ्ख्या उक्त परिमाणमा पुगेको हो।

तथ्याङ्क अनुसार सहकारी क्षेत्रमा कुल १ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँ शेयर पुँजी रहेको छ भने १० खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ बचत परिचालन भएको छ। यस क्षेत्रले देशभर ८२ हजार २१६ जनालाई प्रत्यक्ष रोजगारी समेत प्रदान गरेको सर्वेक्षणमा उल्लेख छ।

आधाभन्दा बढी सहकारी ‘कोपोमिस’ मा आबद्ध

सहकारीसम्बन्धी एकीकृत तथ्याङ्क राख्न विकास गरिएको ‘सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली’ (कोपोमिस) मा आबद्ध हुने संस्थाहरूको सङ्ख्या १९ हजार ९०३ पुगेको छ। गत २०८१ असार मसान्तसम्म कोपोमिसमा १८ हजार ८९७ सहकारी आबद्ध रहेका थिए।

त्यस्तै, नेपालको सहकारी क्षेत्रको नियमन गर्ने निकाय राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालसम्म ८३४ वटा सहकारी संस्थालाई सञ्चालन इजाजतपत्र प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ।

समस्याग्रस्त सहकारी: २३ मध्ये ३ को मात्रै राफसाफ, ४७ अर्ब बढीको माग दाबी

सरकारले समस्याग्रस्त घोषणा गरेका २३ वटा सहकारी संस्थामध्ये हालसम्म ३ वटा संस्थाको मात्रै राफसाफ भएको छ। बाँकी २० वटा सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्न अझै बाँकी रहेको सर्वेक्षणले देखाएको छ।

हालसम्म विभिन्न चरणमा कुल ८० हजार ८७ जना दाबीकर्ताले ४७ अर्ब ६० करोड १३ लाख रुपैयाँ बराबरको माग दाबी दर्ता गराएका छन्।

बचतकर्तालाई साढे २ अर्ब बढी भुक्तानी

समस्याग्रस्त सहकारीका दाबीकर्तामध्ये हालसम्म ३ हजार ६८८ जनाले पूर्ण रूपमा आफ्नो रकम फिर्ता पाएका छन्। उनीहरूलाई कुल २ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ माग दाबी भुक्तानी गरिएको छ। यसैगरी, चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै ८ हजार ७६३ जना दाबीकर्तालाई १२ करोड २३ लाख रुपैयाँ रकम फिर्ता गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।