सम्पर्कबाहिर रहेका १ हजार १८६ सहकारीलाई कारबाही गरिँदै

-



     सफल आवाज    
     जेठ १६ गते २०८३ मा प्रकाशित



काठमाडौं, १६ जेठ। महानगरपालिकाभित्र दर्ता भएकामध्ये एक हजार १८६ वटा सहकारी संस्थाहरू हाल सम्पर्कबाहिर रहेका छन् । महानगर सहकारी विभागका अनुसार हालसम्म ७२६ वटा सहकारी संस्था मात्रै सम्पर्कमा रही नियमित रूपमा आफ्नो वार्षिक प्रतिवेदन पेस गरिरहेका छन् ।

यसरी लामो समयदेखि सम्पर्कमा नरहेका सहकारीहरूलाई कानुनअनुसार कारबाही गर्ने प्रक्रिया अघि बढाइएको महानगर सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिएका छन् ।

नियमन र समस्या समाधानका लागि नयाँ संयन्त्र

सहकारीहरूमा सुशासन कायम गर्न र समस्या सुल्झाउन महानगरले नयाँ रणनीति अपनाएको छ । विभागले यसको नियमन र समन्वयको जिम्मेवारी वडा महिला सञ्जाललाई सुम्पेको छ ।

“महिला सञ्जाललाई पत्र पठाएर सहकारीका सिद्धान्त, व्यवसाय प्रवर्द्धन तथा सुशासन कायम राख्न सहयोग र समन्वयको भूमिका निर्वाह गर्ने जिम्मेवारी दिइएको छ । सामूहिक हित, समन्वय तथा मेलमिलापमार्फत समस्या समाधान गर्ने उद्देश्यले सञ्जालको कार्य विवरणमा सहकारीसम्बन्धी कार्य पनि थप गरिएको हो,” विभाग प्रमुख काफ्लेले भने ।

कसरी हुनेछ मेलमिलाप र ऋण असुली?

महानगरको क्षेत्राधिकारभित्र पर्ने सहकारीका बचतकर्ताहरूको बचत रकम फिर्ता गराउन वडा महिला सञ्जालले एकल वा संयुक्त निवेदन लिनेछ । यस प्रक्रियालाई प्रभावकारी बनाउन निम्न कदमहरू चालिने छन्:

  • सम्पर्क र अभिलेख: सहकारी संस्था वा ऋणीलाई अनलाइन वा पत्राचारमार्फत सम्पर्कमा ल्याइनेछ । मेलमिलापका लागि संस्थाको नाम, ठेगाना, दाबी गरिएको रकम, सम्पर्क नम्बर र तमसुकसहितको अभिलेख राखिनेछ ।
  • छलफलमा सहभागिता: मेलमिलाप तथा छलफलका लागि वडा महिला सञ्जालका संयोजक र सदस्यहरू, सहकारीका प्रतिनिधि, ऋणी तथा बचतकर्ताहरू स्वयं सहभागी हुनुपर्नेछ ।
  • सार्वजनिक सेवामा प्रतिबन्धको चेतावनी: वडाबाट सूचना जाँदा पनि ऋण तिर्न चासो नदेखाउने वा सम्पर्कमा नआउने ऋणीहरूलाई सार्वजनिक आधारभूत सेवामा प्रतिबन्ध लगाउन वडाध्यक्ष र विभागलाई सुझाव दिइनेछ ।

सहकारी विभाग र सञ्जालको भूमिका

यस नयाँ व्यवस्थापनले छलफल र मेलमिलापका माध्यमबाट ऋण नतिर्ने ऋणीहरूबाट रकम उठाउन ठुलो सहजीकरण गर्ने विश्वास गरिएको छ ।

महिला सञ्जालले वडाभित्रका सहकारीको वित्तीय अवस्था, बचत फिर्ता, ऋण असुली र सदस्य हितसम्बन्धी समस्याको जानकारी विभागलाई गराउनेछ । साथै, सहकारीहरूमा सुशासन, पारदर्शिता र उत्तरदायित्व कायम गराउन तथा समस्या समाधानका लागि निकायगत समन्वय गर्ने जिम्मेवारी पनि विभाग र सञ्जालको रहनेछ ।