
काठमाडौं, १७ जेठ। गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी बालेन शाहको अभिव्यक्ति विवादमा तानिएको छ।
आज प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपाल–भारत सीमा र चीनको विकासको अवस्थाबारे दिएको अभिव्यक्तिलाई लिएर संसद्मा चर्को विरोध भएको हो।
‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्तिमा आपत्ति
लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवादबारे नेकपा एमालेका सांसद पद्मा अर्यालले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए। उनले संसद्मा भनेका थिए, ”तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्ला, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।”
प्रधानमन्त्रीको यो भनाइ सार्वजनिक भएसँगै संसद्मै प्रतिनिधि सभा सदस्य वासना थापाले कडा आपत्ति प्रकट गरिन्। उनले प्रधानमन्त्रीले कुनै तथ्य र प्रमाण बिना यस्तो गम्भीर कुरा बोलेको भन्दै यो अभिव्यक्तिले राष्ट्रिय अखण्डतामा आँच पुर्याउने र छिमेकीसँगको सम्बन्ध बिगार्ने तर्क गरिन्।
“प्रधानमन्त्रीले कुन आधारमा नेपालले भारतको भूमि मिचेको भन्नुभयो ? यो निकै आपत्तिजनक छ, यसलाई संसद्को रेकर्डबाट हटाइनुपर्छ।” — वासना थापा, सांसद
यस्तै, प्रतिनिधि सभा सदस्य रमेश मल्लले समेत राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले बिना तथ्य नेपालले पनि भूमि मिचेको भन्नु गम्भीर त्रुटि भएको भन्दै प्रश्न उठाए। एमालेका भूमिका लिम्बु र नेकपाका युवराज दुलालले पनि प्रधानमन्त्री बालेनको उक्त अभिव्यक्तिको कडा आलोचना गरे।
चीनलाई ‘विकसित देश’ भनेपछि तथ्यगत त्रुटिको प्रश्न
नेपाल अल्पविकसित देशबाट स्तरोन्नति हुने प्रक्रियालाई २ वर्ष पछाडि सारिएको विषयमा सांसदहरूको जिज्ञासा मेटाउने क्रममा प्रधानमन्त्रीले चीनको उदाहरण पेस गरेका थिए। त्यस क्रममा उनले भनेका थिए, ”छिमेकी राष्ट्र चीन अस्ति भर्खरै मात्र डेभलपिङ (विकासशील) बाट डेभलप्ड (विकसित) मा गएको हो।”
प्रधानमन्त्रीको यो दाबीलाई पनि सांसदहरूले ’तथ्यगत त्रुटि’ भन्दै आलोचना गरे। संयुक्त राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय निकायहरूले अझै पनि चीनलाई ’विकासशील देश’ कै श्रेणीमा राखेको सांसद खुश्बु ओलीले स्पष्ट पारिन्।
प्रधानमन्त्रीले विना अध्ययन र र्यान्डम रूपमा बोल्दा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि धुमिल हुने भन्दै उनले प्रश्न उठाइन्। “चीनले आफूलाई अझै विकासशील भनिरहेको अवस्थामा हाम्रा प्रधानमन्त्रीले कुन आधारमा विकसित भनेर घोषणा गर्नुभयो? यसले भोलि कूटनीतिक खण्डन आउन सक्छ,” सांसद ओलीले भनिन्।
यसैबीच, प्रधानमन्त्री बालेन शाहकाे अभिव्यक्तिप्रति सर्वत्र आलाेचना हुन सुरु भएकाे छ । संसद्मा र सडकबाट विराेध प्रदर्शन तथा सामाजिक सञ्जालमा उनकाे भनाइकाे चर्काे विराेध भएकाे हाे ।
माइतीघरमा प्रधानमन्त्री शाह विरुद्ध ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’ लगायत नारा लेखिएका प्लेकार्डसहित वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




