
काठमाडौं, १७ जेठ। परराष्ट्र मन्त्रालयले नेपाल-भारत सीमा विवाद र सम्माननीय प्रधानमन्त्रीले संसदमा व्यक्त गर्नुभएको भनाइबारे सञ्चार माध्यममा आएका जिज्ञासाहरूको स्पष्टीकरण दिएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्रीको भनाइ मूलतः सीमा क्षेत्रको प्राविधिक यथार्थ, दशगजा अतिक्रमण र “क्रस बोर्डर अकुपेसन” (सीमा वारपारको जग्गा भोगाधिकार) सँग सम्बन्धित रहेको प्रष्ट पार्नुभएको हो।
विज्ञप्तिमा जनाइएअनुसार नेपालको हालको अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ । नेपाल-भारत सिमाना अन्तर्गत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको र ती स्थानबाहेक अन्य केही क्षेत्रहरूमा भने “क्रस बोर्डर अकुपेसन” तथा दशगजा अतिक्रमणका समस्याहरू विद्यमान रहेका छन्।
प्राविधिक टोली क्रियाशील, संयुक्त लगत सङ्कलन हुँदै
नदी सिमाना क्षेत्रमा ‘फिक्स्ड बाउन्ड्रि प्रिन्सिपल’ (Fixed Boundary Principle) अवलम्बन गरिएका कारण एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती र बसोबास गर्ने अवस्था (क्रस बोर्डर अकुपेसन) सिर्जना भएको मन्त्रालयले जनाएको छ ।
लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम हाल सीमा क्षेत्रमा पुनः क्रियाशील भएको छ । दुई देशका सीमासम्बन्धी संयन्त्र र प्राविधिक टोलीहरूले संयुक्त रूपमा सीमा स्तम्भ निर्माण, मर्मत, दशगजा क्षेत्रको अतिक्रमण तथा “क्रस बोर्डर अकुपेसन” को लगत सङ्कलन गरिरहेका छन् ।
“प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ । प्रधानमन्त्रीज्यूले संसदमा राख्नुभएको ‘कतिपय स्थानमा भारतको जग्गा नेपालतिर रहेको हुन सक्ने’ भनाइको सन्दर्भ यही प्राविधिक यथार्थसँग जोडिएको हो,” विज्ञप्तिमा भनिएको छ ।
कूटनीतिक नोटको जवाफ प्राप्त
नेपाली भूमि लिपुलेक क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारले यसअघि नै (२०८३ वैशाख २० गते) आफ्नो आधिकारिक धारणा स्पष्ट पारिसकेको मन्त्रालयले स्मरण गराएको छ । उक्त विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारत सरकारबाट पनि कूटनीतिक नोटमार्फत नै प्राप्त भइसकेको र दुवै देश सीमा विवादलाई आपसी छलफलबाट समाधान गर्न प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।
नेपाल सरकार ऐतिहासिक सन्धि-सम्झौता तथा नक्साका आधारमा दुई देशबीचको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप कूटनीतिक वार्ताकै माध्यमबाट सम्पूर्ण सीमा समस्याहरूको समाधान गर्न सधैं प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयले पुनर्पुष्टि गरेको छ ।
नेपाल-भारत सीमाबारे सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा व्यक्त गर्नुभएको विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र प्रवक्ताको जवाफ
नेपाली भूमि लिपुलेक क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारको आधिकारिक धारणा यस मन्त्रालयले २०८३ बैशाख २० मा स्पष्ट पारिसकेको छ। यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारत सरकारबाट पनि कूटनीतिक नोटमार्फत नै प्राप्त भएको छ। दुवै देशले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल र भारतबीच सदियौँ पुरानो, लामो र खुला सिमाना रहेको सर्वविदितै छ। नेपालको हालको अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ। नेपाल भारत सिमाना अन्तरगत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थान बाहेक अन्य केही स्थानहरूमा “क्रस बोर्डर अकुपेसन” तथा दशगजा अतिक्रमणको समस्याहरू विद्यमान छन्।
यसै सन्दर्भमा, सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र “क्रस बोर्डर अकुपेसन” (Cross-Border Occupation) अर्थात् ‘सीमा वारपारको जग्गा भोगाधिकार’ सँग सम्बन्धित छ। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा Fixed Boundary Principle अवलम्बन गरेको कारणले “क्रस बोर्डर अकुपेसन” भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था छ।
नेपाल र भारतबीच रहेको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढङ्गले नक्साङ्कन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण, मर्मत, दशगजा क्षेत्रको अतिक्रमण तथा “क्रस बोर्डर अकुपेसन” को लगत सङ्कलन गर्न दुई देशका सीमासम्बन्धी संयन्त्र र प्राविधिक टोलीहरू क्रियाशील छन्। लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम हाल सीमा क्षेत्रमा क्रियाशील छ र संयुक्त रुपमा लगत सङ्कलन गर्ने कार्य भइरहेको छ।
प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा राख्नुभएको ‘कतिपय स्थानमा भारतको जग्गा नेपालतिर रहेको हुन सक्ने’ भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको छ।
नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप, ऐतिहासिक सन्धि-सम्झौता तथा नक्साका आधारमा सीमासम्बन्धी समस्याहरूको समाधान कूटनीतिक वार्ताको माध्यमबाट गर्न नेपाल सरकार सधैं प्रतिबद्ध छ।
___
परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौं
२०८३ जेठ १७, आइतबार।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




